जोरखाने फेष्टिभलमा मुकेशलाई रजत

Advertisement

काठमाडौंः इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वल्र्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत भएको दोस्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजी तौलसमूहमा नेपालका मुकेशकुमार ठाकुरले रजतपदक जितेका छन् ।

यही असोज २० देखि २६ गतेसम्म भएको उक्त च्याम्पियनसिपमा मुकेशको स्पर्धामा १७ खेलाडी सहभागी थिए । १७ खेलाडीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइएको थियो । उनले पाकिस्तान र इराकका खेलाडीलाई पराजित गरे । फाइनलमा मुकेश इरानका खेलाडीसंँग पराजित भएपछि स्वर्णपदकबाट वन्चित भएका थिए ।

Advertisement

भारत र अजरबैजानका खेलाडी संयुक्तरुपमा तेस्रो भए । पर्सा निवासी २४ वर्षीय मुकेशको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा नेपालबाट मुकेशसहित सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

बाँकी सबै पदकविहीन रहे । कुस्तीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) तथा १७ औँ इन्चोन एसियाडमा सहभागी सुमिरकुमार साहले पुरुष ९० केजीमाथि तथा कुन्दन साहले ५०–६० केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । कुन्दनले जोरखानेमा पनि भाग लिएका थिए ।

कुन्दनसहित जोरखानेमा सहभागी अन्य खेलाडी अनुजसिंह श्रेष्ठ, मिलन राना मगर, कमल श्रेष्ठ र अनन्त अर्यालले विभिन्न व्यक्तिगत र टिम इभेन्टमा नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
   
जोरखानेमा समग्रमा नेपाल चौथो स्थानमा रह्यो । नेपालले ७३ अङ्क जोड्यो । इरान १ सय ५१ अङ्ककासाथ पहिलो र अजरबैजान १ सय ४० अङककासाथ दोस्रो भए । ९९ अङ्कसाथ इराक र ८० अङ्कसाथ अफ्गानिस्तान संयुक्त रुपमा तेस्रो भए । जोरखानेमा विभिन्न २६ राष्ट्रका १७८ खेलाडीले सहभागिता जनाएको थियो । रासस

Advertisement

Advertisement