काठमाडौंः पाटन उच्च अदालतले विवादमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको लागि बाटो खोलिदिएको छ । निर्वाचन प्रक्रिया र एन्फा विधानविरुद्ध अदालतमा परेको रिटमा अदालतले अन्तरिक आदेश कायम राख्नु नपर्ने शुक्रबार निर्णय सुनाएको छ ।
एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्षका लागि सोमबार निर्वाचन हुँदैछ । एन्फाको विधान र निर्वाचन प्रक्रियाविरुद्ध पूर्वराष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री बिनोद केसीले रिट दायर गरेका थिए ।
उक्त रिटमा उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेकोमा शुक्रबार फुकुवा गरिदिएको हो । न्यायधीशहरु डिल्लीराज आचार्य र भीमकुमार ओझाको इजलासले एन्फा निर्वाचन रोक्न परेको रिटमाथि गत असोज १४ गते दिइएको अन्तरिम आदेश जारी राख्नु नपर्ने फैसला सुनाएको हो ।
अदालतले एन्फाका विवादित दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो । दुवै पक्षको कुरा सुनेपछि अन्तरिक आदेश फुकुवा गरिएको हो । एक बर्षे कार्यकालका लागि हुन लागेको मध्यावधी निर्वाचनमा अध्यक्ष पदका लागि बर्तमान कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षका लागि श्रेष्ठ प्यानलबाट मणि कुँवर र शेर्पा प्यानलबाट दीपक खाती प्रतिस्पर्धा गर्दै छन् । पूर्व राष्ट्रिय फुटबलर उपेन्द्रमान सिंह पनि बरिष्ठ उपाध्यक्षका लागि दौडमा छन् ।
लामो समयसम्म गणेश थापाले एकछत्र सञ्चालन गर्दै आएको एन्फामा थापालाई फिफाले प्रतिबन्ध लगाएपछि र बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त पद पूर्तिका लागि मध्यावधी चुनाव हुन लागेको हो ।