कानुनविपरित कारोबार गरेको भन्दै इन्भेष्टमेन्टका सञ्चालकहरु पक्राउ

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबारको अनुमति नलिई सुनसरी र मोरङमा बचत संकलन र ऋण प्रवाहको काम गरेको भन्दै प्रहरीले विभिन्न इन्भेष्टमेन्ट कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

ती कम्पनीले आफूलाई प्राप्त कानुनी दायराविपरित स्थानीय जनतासँग बचत संकलन गर्ने र ऋण प्रवाह गर्ने काम गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश क्षेत्रीय अनुसन्धान ब्यूरोले आइतबार संयुक्त कारवाही गरी उनीहरुलाई पक्राउ गरेको हो । कम्पनी दर्ताका क्रममा वित्तीय कारोबारको उद्देश्य राखिए पनि सरोकारवाला निकायको अनुमति नलिएको प्रहरीको तर्क छ ।

पक्राउ परेका सबैले बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐनको बर्खिलाप गरेको कसुर अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कम्पनीको कार्यालयबाट रसिद प्याड, बचत पासबुक, ऋण माग फारम, भौचर र बिलहरुको भपाई, नगदलगायतका सामग्री जफत गरिएको छ ।

कारवाहीमा पर्ने कम्पनीहरुमा इटहरीको आपन इन्भेष्टमेन्ट प्रालि, धरानको हलेसी इन्भेष्टमेन्ट प्रालि, विराटनगरको चौतारी इन्भेष्टमेन्ट प्रालि, इटहरीको मनसुन इन्भेष्टमेन्ट प्रालि, इटहरीकै छिङताङ इन्भेष्टमेन्ट प्रालि छन् । कतिपयले कम्पनीको उद्देश्यविपरितसमेत काम गरेको, ऋणीहरुसँग चर्को ब्याज अशुल गर्ने गरिएको जनाइएको छ । ती कम्पनीहरुले नौ करोड ९७ लाख भन्दा बढि संकलन गरेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement