लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा, अब मकाउसँग भिडन्त

Advertisement

काठमाडौंः नेपालले लाओसलाई टाइब्रेकरमा हराउँदै सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश पुगेको छ । शनिबार भएको प्रतिस्पर्धाको निर्धारित तथा अतिरिक्त समयमा दुवै पक्षको दुई/दुई गोल भएपछि टाइब्रेकरबाट निर्णय भएको हो । 

एएफसीले आयोजना गरेको प्रतियोगितामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । टाइब्रेकरमा नेपालले लगातार तीन गोल गर्न सफल भयो भने लाओसको तीन गोलमा दुई गोल नेपालका गोलकिपर किरण चेम्जाङले रोकिदिए भने तेस्रो गोलले सही दिशा लिन नसक्दा नेपाल ३-० ले विजयी भएको हो । 

Advertisement

खेलको १७औं मिनेटमा पहिलो गोल गरेर निर्धारित समयको खेलमा अग्रता लिएको लाओसविरुद्ध नेपालले दोस्रो हाफको सुरुमा नै गोल हानेर बराबरी गर्न सफल भयो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका थिए ।

दुबै टोलीले केही मौका पाए निर्धारित समय बराबरीमा सकिएपछि अतिरिक्त समयमा नेपालका अनन्त तामाङले गोल गरेर अग्रता कायम गरे पनि अन्तिममा लाओसले पनि गोल फर्काएपछि बराबरी भएको हो । 

लाओसलाई हराएसँगै फाइनलमा पुगेको नेपालले अब फाइनलमा मकाउसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । शनिबार नै भएको अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ३-१ ले हराएको हो ।

Advertisement

Advertisement