काठमाडौँ: अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सेहजादलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप छनोट अन्तर्गतको बाँकी दुर्इ खेलमा प्रतिबन्ध लगाएको छ।
आचारसंहिता उल्लघंन गरेको भन्दै आइसीसीको उनीमाथि प्रतिबन्ध लगाएको हो। प्रतिबन्ध लागेपछि उनले नेपाल र हङकङसँगको खेल गुमाउने छन्।
मंगलबार जिम्बावेविरुद्धको खेलमा आइसिसिको २.१.८ धारा उलंघन गरेको भन्दै सेहजादलार्इ प्रतिबन्ध लगाइएको आइसीसीले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
जिम्बावेविरूद्धको खेलमा ३० रनमा आउट भएका सेहजादले ब्याट पीचमा बजार्दै आक्रोश पोखेका थिए। उनले ब्याट पीचमा बजार्दा पीचमा क्षति पुगेको ठहर गर्दै आइसीसीले उनलार्इ कारबाही गरेको हो।
उक्त धारामा अन्तराष्ट्रिय खेलका दौरान क्रिकेट उपकरण, मैदान, पोशाक, तथा समानहरुको कसैबाट दुरुपयोग भए वा क्षति पुर्याए आचारसंहिता उल्लघंन भएको ठहरिने उल्लेख छ।
उक्त घटनामा आचारसंहिता उल्लघंन भएको पाएपछि आइसीसीले सेहजादलार्इ १ डेमिरेट प्वाइन्टसहित १५ प्रतिशत म्याच फिसको जरिवानासमेत तोकेको छ।
आइसीसीको नियमअनुसार २४ महिनामा ४ डेमिरेट प्वाइन्ट पाएका कारण उनलार्इ दुर्इ खेलको प्रतिबन्ध लगाइएको हो। यसअघि २०१६ को डिसेम्बरमा यूएइसँग भएको टी-२० का क्रममा उनले ३ डेमिरेट प्वाइन्ट पाएका थिए।
प्रतियोगिता अन्तर्गत नेपालले अफगानिस्तानसँग फागुन २६ गते खेल्दैछ। यसअघिनै अफगानिस्तानका मुख्य ब्याट्सम्यान तथा कप्तान घाइते भएकाले प्रतियोगिता गुमाएका थिए।
यो सँगै अफगानिस्तानबिरूद्धको खेल नेपालका लागि केही सहज भएको छ। ओपनर ब्याट्सम्यान तथा विकेटकिपर सेहजाद कप्तान नभएपछि नेपालले केही राहत महशुस गर्नेछ।
सुरूवाती दुर्इ खेलमा पराजय भोगेको अफगानिस्तान अंकतालिकामा रनरेटको आधारमा नेपाललाई उछिनेको छ। सुपरसिक्समा पुग्न नेपाल र अफगानिस्तान दुबैलाई खेल जित्नैपर्ने दबाब छ।