काठमाडौंः विश्वकप क्रिकेट छनोटअन्तर्गत सातौं स्थानका लागि जिम्बाव्बेमा जारी खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको छ।
नेदरल्याण्डसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो भने जवाफी व्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रनमा समेटियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए। उनले ५३ बल खेल्दा तीन चौका र एक छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। उनले ३८ बल खेल्दा तीन चौका प्रहार गरे।
कप्तान पारस खड्का २२ रनमा आउट भए। ३७ बल खेलेका पारसले ३ चौका प्रहार गरे भने करण केसी १३ रनमा आउट भए। २४ बल खेलेका करणले तीन चौका प्रहार गरे भने अनिल शाह ३० बलमा ८ रनसहित आउट भए।
अनिल शाह आठ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल चार रनमा आउट भए। शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए। सन्दिप लामिछाने एक चौकासहित १४ रनमा अविजित रहँदा ललित राजवंशी दुई रनमा आउट भए।