कोहलपुर (बाँक): युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको घटना ेलान नपाउँदै सोही संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि गएराति खुकुरी प्रहार भएको छ । बाँकेको कोहलपुर–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
घाइते बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएकोे छ । खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाँटीमा खुकुरी प्रहार भएका बुढाथोकीलाई तत्कालै हेलिकोप्टरबाट काठमाडौं ल्याउने प्रयास भए पनि संभव नभएपछि लखनउ लगिएको जनाइएको छ । उनको अवस्था चिन्ताजनक रहेको छ ।
अपराधीलाई तत्काल कारबाही गरः युवा संघ
एमाले सम्वद्ध युवा संघले एमालेको आन्दोलनबाट त्रसित भएकाहरुले आन्दोलन कमजोर बनाउन निरन्तर युवा संघका नेता–कार्यकर्तामाथि प्रहार प्रहार गरेको भन्दै यस्ता प्रहारले हाम्रो आन्दोलन कमजोर नबन्ने बताएको छ ।
बुढाथोकीको हत्या प्रयास गर्नेहरुलाई सरकारले तत्काल खोजी नगरे आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिँदै युवा संघले त्यस्ता हत्यारालाई आफैँ पनि कारवाही गर्ने हैसियत छ, तर संघ कानुन हातमा लिन चाहदैन भनेको छ ।
सरकारले हत्यारालाई तुरुन्त कानुनी कठघरामा नल्याए संघले देशव्यापी आन्दोलन गर्ने उसको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रघाती संविधान संशोधन प्रस्तावको विरुद्धमा एमाले उभिएपछि निरन्तर एमालेमाथि प्रहार भएको भन्दै संघले तर, कसैको हत्या गर्दैमा र कसैलाई हत्या प्रयास गर्दैमा राष्ट्रवादी आन्दोलन कमजोर बन्ने छैन भनेको छ ।