काठमाडौंः भारतको सिलगुडीमा भएको चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको छ । अघिल्ला तीन खेलहरुमा फाइनलमा भारतसँगै पराजित भएको नेपालको लक्ष्य यस पटक पनि अधुरै रह्यो ।
नेपाललाई पराजित गरेर भारत फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा दुई गोल थप्यो भने नेपाली खेलाडीहरुले एक गोल मात्रै फर्काउन सफल भए ।
सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा भएको खेलको खेलको ४४ औं मिनेटमा भारतकी कमलादेवीले गोल गर्दै खाता खोलेकी थिइन् । नेपालले गोल गर्ने पटक पटक मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
खेलको ५९ औं मिनेटमा भारतीय खेलाडी इन्दूमतिले दोस्रो गोल गरिन भने भारतकी सस्मिता मल्लिकले तेस्रो गोल गरिन् ।
नेपालले ७५ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १ गोल गरेको हो ।
यस खेलमा नेपाल पहिल पटक सेमिफाइनलबाट बाहिरिएको हो । साफ महिला च्याम्पियनसिपका लागि तगारो बन्दै आएको भारतलाई पराजय गर्न नेपाललै निकै कसरत गर्नुपर्ने देखिएको छ ।
समूह चरणको खेलमा उत्साहजनक सफलता हासिल गरेको नेपाललाई सेमिफाइनल पार गर्न भने कठिनाई भएको छ । नेपालले पाएको पेनाल्टीको मौकालाई सावित्रा भण्डारीले सदुपयोग गर्दै एक गोल गर्न सफल भएकी हुन । आयोजक भारतलाई आफ्नो गृह मैदान भएकाले पनि जित हासिल गर्न सहज भएको हो ।