राष्ट्रिय फुटबल टोलीलाई सरकारको पुरस्कार, देश एकतावद्ध गर्न हामीले सकनौं, खेलाडीले सकेः दाहाल

Advertisement

काठमाडौंः मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी फुटबल कपमा प्रथमसहित च्याम्पियन बन्न सफल भएकोमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कार प्रदान गरेको छ । 

युवा तथा खेलकुद मन्त्रालयद्वारा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरे । 

Advertisement

यही मङ्सिर २७ देखि ३० सम्म मलेसियाको कुचिङमा सम्पन्न सो खेलमा प्रथम भएर देशको गौरव बढाएको भन्दै मन्त्रिपरिषद्को गत माघ ७ गतेको बसेको बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको निर्णयअनुसार सो प्रदान गरिएको हो । 

सम्मान तथा पुरस्कार पाउनेमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरूङ, उपकप्तान विराज महर्जन र खेलाडी विकेश कुथु, रवीन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरूङ, आदित्य चौधरी, विमल घर्ती मगर, विशाल राई, रञ्जीत धिमाल, रञ्जन विष्ट, राजेन्द्र रावल, भतर खवास, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुमन लामा, किरण कुमार लिम्बू, सुजल श्रेष्ठ, अन्जान विष्ट, कमल श्रेष्ठ, विक्रम लामा, गुरूङ हेमनसहित २३ जना छन् । पुरस्कारको राशी जनही रु. तीन लाख रहेको छ । 

त्यसैगरी मुख्य प्रशिक्षक ग्योटोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र उज्जवल महर्जन तथा फिजियोथेरापिस्ट सुरज भुसाललाईसमेत पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु तीन लाख, दुई लाख र ५०-५० हजार रहेको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रको एकता र गरिमाको निम्ति खेल क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले राजनीति र दलले देशलाई एकताबद्ध गर्न कठिन भएको अवस्थामा खेलाडीले सकारात्मक मनोविज्ञान सिर्जना गरी राष्ट्रिय एकता कायम गर्न तथा इज्जत र प्रतिष्ठानलाई माथि उठाउन मद्दत पुग्नेगरी भूमिका निर्वाह गरेको बताए । 

उनले आगामी दिनमा समेत अझै हौसला, नयाँ जोस/जागर र सङ्कल्पकासाथ नयाँ अभ्यासका लागि अगाडि बढ्न तथा राष्ट्रको नाम उच्च पार्दै पहिचान र गरिमा बढाउन सबै खेलाडी र प्रशिक्षकलाई सफलताको शुभकामना दिए । 

पछिल्लो पटक खेल क्षेत्रमा विकास हुँदै गर्दा सबै जातजाति, धर्म, पेसा वर्ग उत्साही हुने र कुनै प्रकारको विभेद नहुने बताउँदै दाहालले खेल क्षेत्रले प्रतिष्ठा बढाउने मात्र नभई अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्नेलगायत मुलुकको आर्थिक विकासमा समेत निकै ठूलो योगदान पुर्याएको बताए । 

सम्मानितका तर्फबाट नेपाली फुटबलका कप्तान अनिल गुरूङले नेपालमा फुटबल खेलको अत्यन्त सम्भावना रहेको हुँदा जतिसक्दो चाँडो अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न आग्रह गरे ।

Advertisement

Advertisement