काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले एयरपोर्ट सुनकाण्डमा संलग्न भन्दै १२ जनालाई पक्राउ गरी संगठित अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । यस प्रकरणमा जोडिएका अझै १८ जनालाई पक्राउ गर्न नसकिएको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
ब्यूरो प्रमुख नवराज सिलवालले संगठन अपराध ऐनअनुसार सुन तस्करहरुलाई कारवाही अगाडि बढाउन पहिलो पटक काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए । उनले संगठित अपराध ऐनअनुसार मुद्दा नचलाउँदा अपराधीहरु धरौटी राखेर तारेखमा छुटने गरेकाले त्यो कुरालाई अन्त्य गर्न संगठित अपराध ऐनअनुसार मुद्दा चलाउन लागिएको बताए ।
सिआईबीले गत पुस २१ गते दुवईबाट भित्राइएको ३३ किलो ५७७ ग्राम अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र जाँच पास गरेर बाहिरिएपछि पक्राउ गरेको थियो । पक्राउ परेको उक्त सुन कस्को हो ? भन्ने कुराले धेरै आशंका र अनुमानहरु बाहिर सार्वजनिक भएका थिए ।
यसरी भित्रियो सुन
खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) सुन तस्करीदेखि ठूला अवैध कारोबारका लागि उर्भर भूमि मानिन्छ । यहीँबाट नेपालमा लामो समयदेखि ठूलो परिणाममा सुन तस्करी हुने र त्यो सुन भारत, चीन र अन्य मुलुकहरुमा समेत निर्यात हुने गरेको तथ्य यसअघि पनि फेला पर्दै आएको थियो ।
अहिलेको ३३ किलो सुन तस्करी यूएईको दुवईबाट नभई शारजहाँबाट एयर अरेवियाको उडानबाट भित्रिएको तथ्य प्रहरीले प्रस्तुत गरेको छ । प्रहरी नायव महानिरीक्षक (डिआइजी)समेत रहेका सिआईबी प्रमुख सिलवालका अनुसार दुवईबाट सुन तस्करी हुँदैछ भन्ने सुराकी आफूहरुलाई पक्राउ पर्नुभन्दा पहिले नै जानकारी भएको थियो ।
जानकारीकै आधारमा सिआईबीको विशेष टोलीले निरन्तर विमानस्थलमा निगरानी गरेको थियो । सुन पक्राउ गर्नुभन्दा एक दिन अगाडि पुस २० गते एयर अरेबियाको उडानबाट तस्करहरु आइसके पनि निजहरुको लगेज भने अफलोड गरिएको थियो । सो दिन उनीहरु कोटेश्वरस्थित कमला मगर भन्नेको घरमा बास बसेका थिए ।
लगेज आउने दिन तस्करहरु बिहानै एयरपोर्ट पुगेर बसेको र यूएईबाट एयर अरेबियाको तेस्रो उडानमा लगेज आएपछि विमानस्थलको लगेज बेल्टबाटै लगेज संकलन गरी करिव पौने दुई बजे उनीहरु विमानस्थलबाट बाहिरिएका थिए ।
बाहिरिएका मध्ये ट्याक्सीमा जाँदै गरेका गोपालबहादुर शाहीलाई पिङ्लास्थानबाट पक्राउ गरिएको थियो । उनको खानतलासी गर्दा १० लगेजभित्र १० तोला तौल भएका सुनका बिस्कुट १३० थान फेला परेको थियो । शाहीले ल्याउँदै गरेको सुनसहितको लगेज दिन भनी दिलबन्धु थापा र सन्तोष काफ्ले टेरियोस गाडिमा आउँदै गर्दा दिलबन्धु थापा र सन्तोष काफ्लेलाई पक्राउ गरिएको थियो ।
उनीहरुको खानताली गर्दा प्रति १० तोला तौल भएका सुनको बिस्कुट १५२, सुन जडित औंठी १९ थान र सिक्री १८ थान गरी कुल ३३ किलो ५७७.४० ग्राम अवैध सुन बरामद भएको थियो । यस प्रकरणमा हालसम्म १२ जना मात्रै पक्राउ परे पनि मुख्य दोषीहरु भने नेपालमै कोही फरार छन् भने कोही दुवईमै लुकेर बसेका छन् ।
सुन तस्करीको कारोबारमा आरके ज्वेलर्सको नामले परिचित व्यापारीहरुको समेत संलग्नता रहेको प्रहरीले पुष्टि परेको छ । यद्यपि यो प्रारम्भिक अनुसन्धान भएको र थप अनुसन्धानबाट अरुको समेत संलग्नता खुल्नसक्ने डिआईजी सिलवालले बताए । यिनीहरु दुई बर्षदेखि नै यो तस्करीमा संलग्न रहेको प्रमाण भेटिएको उनले बताए ।
पक्राउ पर्ने तस्करहरु (अदालतबाट पुष्टी हुन बाँकी)
कर्मचारीहरु
व्यापारीहरु
तस्करसँग अनुमति लिएर छुट्टि
सुन तस्करीमा एयरपोर्टका कर्मचारीहरुले फेसबुक म्यासेन्जरमार्फत सुचना आदानप्रदान गर्ने गरेको प्रहरीले प्रमाण प्रस्तुत गरेको छ । सुन तस्करी हुने सेटिङमा रहेका कर्मचारीहरु ड्यूटी खटाउने र उनीहरुले म्यासेन्जरमार्फत सुचना आदान प्रदान गरी सुन तस्करीको प्रवन्ध मिलाउने गर्दथे ।
दुबईमा रहेका मुख्य योजनाकार एवं लगानीकर्तादेखि यहँका भरियाहरुसम्मको तालमेलमा सुन तस्करी हुने गर्दछ । दुवईबाट तस्करहरुले सुन तस्करीको लगेज फोटो खिचेर पठाउने र सोही फोटोको आधारमा एयरपोर्टमा बस्ने कर्मचारीहरुले त्यसलाई विना जाँच पास गराउने गर्दथे ।
छुट्टि बस्नुपर्दा पनि कर्मचारीहरुले पहिला सेटिङको सुन आउँदै छ वा छैन भनेर तस्करहरुलाई दुवईमा सोधेर मात्रै विदा बस्ने गरेको म्यासेन्जरमा देखिन्छ । धेरै कुराहरु कोड भाषा प्रयोग गरिन्थ्यो । मालहरु आएपछि रिसिभ र कटाएपछि डेलिभर भनेर म्यासेज गरिन्थ्यो ।
मुख्य नाइकेहरु दुवईमा
तेत्तिस किलो सुन तस्करीका मुख्य पाँच जना नाइकेहरु दुवईमा रहेका छन् । उनीहरुउनीहरुलाई सहयोग गर्ने अरु पाँच पनि छन् । दुवईमा बसे पनि धेरै दिन लुकेर बस्न नसक्ने डिआईजी सिलवालले बताए । चाँडै रेडकर्नर नोटिस जारी गरेर तथा दुवई प्रहरीलाई भनेर उनीहरुलाई पक्राउ गरिने उनले बताए ।
सिआईबीले दुवईदेखि नेपालकासम्म तस्करीमा संलग्नहरुको स्केच नै बनाएर सार्वजनिक गर्दै यसको मुख्य नाइके हरिशरण खड्का रहेको बताएको हो । खड्का नेतृत्वको टोलीले यूएईमा बसेर त्यहाँ काम गर्नेहरुले कमाएको पैसा घर पठाउने भन्दै संकलन गरेर सुन किन्ने र नेपालमा सोही सुन बिक्री गरेर सम्वन्धित कामदारको परिवारलाई पनि दिने, आफ्नो अवैध व्यापार पनि चलाउने गर्दै आएको खुलेको हो ।
खड्कासँग काम गर्नेमा ध्रुब, रोशन भन्ने गुप्ताल भुसाल, कृष्णगोपाल अग्रवाल, राजन पन्त, अर्जुन खरेल, चूडामणि उप्रेती, केशव चापागाई, सञ्चय भनिने दुर्गा खरेल र गोपाल भुसाल छन् ।
उनीहरुले नेपालमा पठाएको सुन नेपालमा गोपाल शाही, सन्तोष काफ्ले, दिलबन्धु थापालगायतले सम्वन्धित व्यक्तिसम्म पुर्याउने, कामदारहरुको पैसा सम्वन्धित परिवारलाई हुण्डीको रुपमा दिने, सहयोग गर्ने सरकारी कर्मचारीहरुको बैंक खाता वा नगदको रुपमा उपलब्ध गराउने काम गर्छन भने रामहरी कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धीमान खरेल मुख्य रिसिभरको रुपमा देखिएका छन् ।
भरियाको काम गर्नेहरुमा निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदी छन् । काठमाडौं भित्रिएको सुन खरिद बिक्रीको काम नारायणहिटी दरबार संग्राहलयको उत्तरतर्फको दरबार दोहोरी क्लवमा हुने गर्दथ्यो । त्यस्तो सुन डिमाण्ड गर्ने काम राजेन्द्र शाक्य, मालिका बज्राचार्य शाक्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल भालचन्द्र र प्रमोद श्रेष्ठले गर्ने गरेको सिलवालको भनाई छ ।