काठमाडौँ : युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ।
स्वीट्जरल्याण्डको निओनमा शुक्रबार भएको ड्र अनुसार साविक विजेता स्पानिस जायन्ट रियल मड्रिडले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्नेछ भने अर्को स्पानिस जायन्ट बार्सिलोनाले इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ।
यस्तै स्पेनकै एथ्लेटिको मड्रिडले गत वर्षको प्रिमियर लिग च्याम्पियन लेस्टर सिटी प्रतिद्वन्दी पाउँदा जर्मनीको बोरुसिया डर्टमण्डले फ्रेन्स क्लब मोनाकोसँग प्रतिस्पर्धा गर्ने भएको छ।
डर्टमण्ड र मोनाको युरोपियन प्रतियोगितामा भिड्न लागेको यो पहिलो पटक हो।
यस्तै कीर्तिमानी ११ औं पटकको विजेता रियल र वायर्न अहिलेसम्म नकआउट टुर्नामेन्टमा १० पटक आमने सामने भइसकेका छन् जसमा दुवै क्लबले समान ५ खेलमा जित हात पारेका थिए।
यता एथ्लेटिको र लेस्टर यसअघि दुई पटक भिडेका थिए। दुवैमा एथ्लेटिको विजयी भएको थियो। यस्तै बार्सा र युभेन्ट्स अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा बार्सा ३ तथा युभेन्ट्स २ मा विजुयी भएको छ भने २ खेल बराबरीमै सकिएको थियो।
क्वाटरफाइनल पहिलोल लेगको खेल अप्रिल ११ र १२ तथा दोस्रो लेगको खेल अप्रिल १८ र १९ मा हुनेछ।