काठमाडौंः सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई हैरान बनाउने २३ बर्षीय राजकुमार बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बैतडी देहमाण्डीका बोहरालाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।
बोहराले सामाजिक सञ्जालको दुरुपयोग गरेर विभिन्न माध्यमबाट महिलाको चरित्र हत्या गर्ने, अवाञ्छित क्रियाकलापमार्फत उनलाई तनाव दिने, समाजमा भ्रमपूर्ण नकारात्मक सन्देश फैलाउने काम गर्दै आएका थिए ।
प्रहरीको अपराध अनुसन्धान ब्यूरोका अनुसार महिलाको व्यक्तिगत चरित्रमाथि नै प्रश्न उठने र पारिवारिक सम्वन्ध समेत बिगार्नेगरी सामाजिक सञ्जालमार्फत बोहराले महिलालाई दुःख दिँदै आएका थिए ।
निजले ती महिलासँग पटक पटक टेलिफोनमार्फत कुरा गरी विभिन्न बहानामा अप्रत्यासितरुपमा रातको समयमा बस्ने कोठामा प्रवेश गर्ने, उनलाई नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेर त्यसैमार्फत पैसा र गरगहना गठी गर्ने, पीडितको नातेदारलाई समेत भिडियो फेसबुकको म्यासेन्जरमार्फत पठाइदिई निरन्तर पीडितलाई मानसिक तनाव दिने गर्दै आएका थिए ।