मैत्रीपूर्ण फुटबल खेलमा सरकार हार्यो, करदाताले जिते (फोटो फिचर)

Advertisement

काठमाडौं । सातौं राष्ट्रिय कर दिवसअन्तर्गत बिहीबार बिहान सरकार अर्थात कर प्रशासन र निजी क्षेत्र अर्थात करदाताबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कर प्रशासन पराजित भएको छ ।

आन्तरिक राजश्व विभाग र नेपाल उद्योग बाणिज्य महासंघको टोलीबीच नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा भएको फुटबल खेलमा महासंघले ३–१ गोल अन्तरले विभागलाई हराएको हो । पहिलो हाफमा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अग्रता लिएको विभागले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

कर दिवसलाई साताव्यापीरुपमा मनाउने क्रममा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । खेलको उदघाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए । महासंघको तर्फबाट यसका पदाधिकारी र कार्यकारी सदस्यहरु तथा विभागको तर्फबाट यसका कर्मचारीहरु मैदानमा उत्रिएका थिए ।

विजयी टिमलाई सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । कर प्रशासन र करदाताबीच सम्वन्ध सुमधुर गर्न र जनतामा कर तिर्न जागरुता सिर्जना गर्ने सहयोग पुगोस भनेर यो प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक कृष्णप्रसाद दुलालले बताए ।

Advertisement

Advertisement

Advertisement