काठमाडौँ । नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । आज आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै निगमले मनाङ मस्र्याङ्दीलाई रु ३५ लाख उपलब्ध गराएको छ । निगमका कार्यकारी निर्देशक पौडेलले क्लबका अध्यक्ष गुरुङलाई प्रायोजन रकममध्ये ५० प्रतिशत रकमको चेक हस्तान्तरण गरे ।
निगमको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले क्लबलाई मुख्य प्रायोजन गर्ने घोषणा गरेका थिए । निगमले बाँकी रकम एक वर्षभित्र उपलब्ध गराउनेछ । आठ पटकसम्म राष्ट्रिय लिग च्याम्पियन बनेको क्लबका लागि यो हालसम्मकै सर्वाधिक ठूलो प्रायोजन हो ।
सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले खेलकूद क्षेत्रलाई उत्थान गर्न निगमले थप स्रोतसाधन परिचालन गर्ने बताए । “यो शुरुआत मात्र हो”, उहाँले भन्नुभयो, “अब निगमले नेपाली फुटबलमा योगदान गर्नेछ । यो सहयोग मनाङको मात्रै नभएर नेपाली फुटबलका लागि पनि हो ।” उनले यसअघि आर्थिक स्थिति बलियो नहुँदा निगम खेलकूदबाट बाहिर रहेपनि अबका दिनमा खेलकूद क्षेत्रमा सहयोग गर्ने बताए ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा शेर्पाले निगमले प्रायोजन गरेसँगै नेपाली फुटबलको विकासमा थप योगदान मिलेको बताए । “निगमको सहयोगसँगै नेपाली फुटबलले पुनः जीवन पाएको छ ।” क्लबका अध्यक्ष गुरुङले निगमको प्रायोजनसँगै नेपाली फुटबल नयाँ चरणमा प्रवेश गरेको बताए । “अब क्लब र संस्थालाई उच्च प्राथमिकता दिई खेलाडी प्रस्तुत हुनेछन्”, उनले भने । निगम र क्लबबीच भएको सम्झौताले आगामी दिनमा पनि निरन्तरता पाउने उनको विश्वास थियो ।
सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले निगमको प्रतीक चिह्न अङ्कित जर्सी क्लबका कप्तान कलम श्रेष्ठ र सहकप्तान अञ्जन विष्टलाई हस्तान्तरण गरेका थिए । मनाङ मस्र्याङ्दीले एक वर्षसम्म निगमको लोगो अङ्कित जर्सी प्रयोग गर्नेछ ।