काठमाडौं । थ्रीस्टार क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको हो ।
थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे ।
खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क जोडेको छ । यता समान खेल खेलको सङ्कटा १५ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।