काठमाडौं । राष्ट्रिय फुटबल संगठनहरुको अन्तर्राष्ट्रिय महासंघ फिफाले भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई सबैखाले राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ ।
नेपालको फुटबल क्षेत्रमा लामो समयदेखि एकछत्र आधिपत्य जमाउँदै आएका उनलाई फिफाले २० हजार स्वीस फ्र्यांक (करिब २१ लाख रुपियाँ) जरिवाना गर्ने निर्णय पनि गरेको छ ।
राप्रपा नेपालको तर्फबाट संसद सदस्यमा मनोनित भएका थापा माथिको कारवाही तत्काल लागू हुने फिफाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसीको सम्मेलनमा घूस लिएकोले प्रतिबन्ध लगाइएको हो ।
फिफाको नैतिक समितिले लामो छानविनपछि थापालाई राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट प्रतिवन्ध लगाइएको हो । समितिले लाओस् फुटबल फेडरेसनका अध्यक्ष भिफेट सिहाचरलाई पनि दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ । थापाले निर्वाचनको बेला व्यक्तिगत र पारिवारिक हितका लागि अन्य फुटबल पदाधिकारीबाट पैसा लिने, वर्षौसम्म पदीय मर्यादाविपरीत विभिन्न गतिविधि गर्ने जस्ता कुराको आधारमा थापामाथि प्रतिबन्ध लगाइएको हो ।
उनले एएफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट थापाका छोरा गौरव थापाको खातामा एक लाख डलर जम्मा भएको देखिएपछि फिफाले अनुसन्धान थालेको थियो ।
संसदको सार्वजनिक लेखा समितिले पनि एन्फाका अध्यक्ष थापाले छानविन गरी ५८ करोड रुपियाँ भ्रष्टाचार गरेको ठहर गर्दै थप छानविन र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरे पनि आयोगले बदनियतपूर्ण तरिकाले यस विषयलाई तामेलीमा राखेको छ ।