काठमाडौं । पूर्वमा पहिलो पाँच तारे होटल सञ्चालनमा आएको छ । कोरोना भाइरस (काभिड १९) महामारी उत्कर्षमा रहेको बेला झापाको धुलाबारीमा ‘होटल मेची क्राउन’ सञ्चालनमा आएको हो ।
‘द पिक हस्पिटालिटि’ले सञ्चालनमा ल्याएको यो होटल निर्माणमा डेढ अर्ब रुपियाँ लगानी भएको जनाइएको छ । ‘द पिक हस्पिटालिटि’का अध्यक्ष दीपक लेखकका अनुसार नेपालीबाटै निर्माण, सञ्चालन तथा व्यवस्थापन हुन लागेको यो पहिलो होटल हो ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरेर यो होटल बनाइए पनि कोरोना महामारीका कारण भ्रमण बर्ष स्थगित भएको छ । विदेशमा हस्पिटालिटि क्षेत्रमा आर्जन गरेको ज्ञान र पुँजीबाट नेपालमा होटल खोलेको ‘द पिक हस्पिटालिटि’ले काठमाडौंको एयरपोर्ट होटेल, भैरहवाको बोधी रेडसन होटेल र काठमाडौंको आनन्द पशुपति होटेलको पनि व्यवस्थापन गर्दै आएको छ ।