काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
राजधानीमा बिहीबार एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । सोमबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा छात्र तथा छात्रातर्फ यु–१६ मा १२ इभेन्टस र यु–२० तर्फ १६ इभेन्ट्स गरी कुल २८ ट्रयाक र फिल्ड इभेन्ट्समा प्रतिस्पर्धा हुँदै छ ।
यसका लागि बंगलादेशका १२ खेलाडी पनि प्रतिस्पर्धा गर्न नेपाल आएको आयोजक एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए । च्याम्पियनसिपमा ५ महिला र ७ पुरुष गरि बंगलादेशका १२ खेलाडीले भाग लिने पक्का भएको हो । खत्रीले भुटान र भारतलगायतको देशबाट आउने भए पनि कोरोनाका कारण आउन नसकेको बताए ।
च्याम्पियनसिप सोमबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको एथलेटिक्स ट्रयाकमा हुनेछ । च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू–२० उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियसिपमा यू–१६ का १२ र यू–२० का १६ गरि कुल २८ इभेन्ट्समा प्रतिस्पर्धा हुने छ । छात्र–छात्रा यू–१६ मा ६० मिटर, १ सय मिटर, ८ सय मिटर, सटपुट थ्रो, लङजम्प र ४ गुणा सय रिलेको प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै छात्र–छात्रा यू २० मा सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ हजार मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट थ्रो, ४ गुणा सय मिटर रिले दौडमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा विभिन्न जिल्लामा रहेका स्कुल, कलेज, विभागियसहित अन्य गरि २ सय ५० भन्दा बढी एथलिटले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।
सोही अवसरमा एथलेटिक्स संघका पूर्व अध्यक्ष, ओलम्पियन तथा प्रशिक्षक रघुराज वन्तले उदीयमान एथ्लिट विर्सना कुमाललाई एक सेट स्पाइक सुज प्रदान गरे । २१ वर्षीय विर्सना हाल नेपाल पुलिस क्लबमा आबद्ध छिन ।