काठमाडौँ । क्रिकेट खेलाडीलाई कारवाही गर्ने निर्णयबाट नेपाल क्रिकेट संघ (क्यान) पछि हटेको छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुनर्नियुक्त भएर आएका पुबुदु दासानायकेको सक्रियतामा विवाद समाधान भएको हो ।
सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयलाई लिएर क्यान र केही खेलाडीबीच विवाद भएपछि क्यानले चार जना खेलाडीलाई कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा कप्तान ज्ञानेन्द्र मल्ल, कमलसिंह ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी छन । विवाद समाधानका लागि आइतबार क्यानको टोली र खेलाडीबीच कुराकानी भएको थियो ।
साथै, सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । क्यानको उक्त निर्णयको खेलाडीसहित अन्य क्षेत्रबाट विरोध हुँदै आएकोमा दासानायके आएपछि विवाद समाधान भई कारवाहीमा परेका खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । तर लामिछाने कप्तान कायमै रहने छन् ।
मुख्य प्रशिक्षक दासानायकेका अनुसार क्यान र खेलाडीबीचको विवाद समाधान भएकाले अब बन्द प्रशिक्षणमा सबै खेलाडी सहभागी हुनेछन् । नेपाली क्रिकेट टोली ग्लोबल ट्वान्टी–२० छनोटका लागि तयारी गर्न विवादका कारण ढिलाई भएको थियो । विवाद समाधानसँगै आजबाट प्रशिक्षण सुरु हुने जनाइएको छ ।
क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको सार्वजनिक गरेको छ । प्रशिक्षणको काम त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।