हामीले दुई–चार थप्पड हानेपनि इण्डिया सहन्छ, तर अमेरिका इण्डिया होइन्ः त्रिपाठी

Advertisement

काठमाडौं । नवगठित जनता प्रगतिशील पार्टीका संयोजक हृदयश त्रिपाठीले एमसीसी अनुमोदन गर्ने कुरामा नेपाललाई अमेरिकाको ठूलो दबाब रहेको संकेत गरेका छन् । 

प्राइम टिभीको एक कार्यक्रममा शुक्रबार उनले इण्डिया र अमेरिकालाई एकै ढंगले हेर्न नहुने तर्क गरे । त्रिपाठीले भने, ‘एउटा कुरा भनौं है । भन्न मिल्छ कि मिल्दैन । तर भन्छु नै । अमेरिका इण्डिया होइन् । इण्डियालाई दुई–चार थप्पड हाने पनि, चलाए पनि, गिज्याए पनि ‘चल भाई आफ्ना भाई है’ भनेर त्यहाँको राजनीतिक नेतृत्वले हेर्छ । त्यसको कानै निमोठे पनि ‘आप्ना भाई’ भनेर त्यहाँको नेतृत्वले हेर्छ । तर अमेरिका त्यो होइन् ।’

Advertisement

उनले थपे, ‘म अन्तर्राष्ट्रिय सम्वन्धको विद्यार्थी भएको हिसावले म भन्छु अमेरिकाले कुराहरुलाई नोटिसमा लिन्छ । र, लिएको नोटिसलाई कहिं न कहिं असर देखाउँछ । त्यसको पनि अध्ययन गर्न म नेताहरुलाई सुझाव दिन्छु । उनले पटक पटक नेपालमा नाकाबन्दी गर्ने गरेको, दर्जनौं ठाउँमा सीमा अतिक्रमण गर्ने गरेको जस्ता कुरा भने उल्लेख गरेनन् । 

त्रिपाठीले इण्डिया सरल पनि हो र छिमेकी पनि हो, सहज पनि हो, हामीले जतिसुकै गाली गरे पनि उसले सम्वन्ध बिग्रिन दिँदैन भन्दै अमेरिका अर्कै भएको तर्क गरे । उनले एमसीसीले समस्या ल्याएको स्वीकार गरे । 

नेता त्रिपाठीले यसअघि आफू मन्त्री रहेको (केपी ओली नेतृत्वको सरकार)को बेलामा एमसीसी अनुमोदन गर्न संसदमा दर्ता भएको स्मरण गर्दै आफूहरुले एमसीसी अनुमोदन गराउन खोजे पनि अहिलेको सत्ता गठवन्धनको विवादले अनुमोदन अन्योलमा परेको तर्क गरे । 

अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौताका प्रावधानहरु विवादित हुँदा यसलाई अनुमोदन नहुने जनमत बढ्दै गएको देखिन्छ । राजनीति दल र नेता पनि यसमा विभाजित देखिन्छन् भने जनस्तरमा पनि ध्रुविकरण बढ्दो छ । 

Advertisement

Advertisement