कांग्रेस नेताको तर्क– एमालेले बिगारेको अर्थतन्त्र अहिलेको सरकारले सही ट्राकमा ल्याएको छ

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे । रिपोर्टर्स क्लबमा उनले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरेका हुन् । 
 
खतिवडाले भने, ‘यसअघि नेकपालाई पाँच वर्षको लागि सरकारको नेतृत्व गर्ने अवसर थियो । तर उहाँहरु आँफैबीच मारामार, कुटाकुट र हानाहान गर्ने अवस्था भयो । दुई तिहाईको मतलाई अपमान गर्नुभयो । उहाँहरुकै कारण अहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । कांग्रेस सरकारमा आउनुपुर्व संवैधानिक निकाय र संसदीय पद्दती ध्वस्त थियो । तत्कालिन प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई दुई पटक संसद् विघटन गर्नुभयो । राष्ट्रपतिलाई दुरुपयोग गरिएको थियो । तर, अदालतले परमादेश दिएर अहिले नयाँ सरकार बनेको छ । यसले अहिले मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याएको छ ।’

उनले हिजो संवैधानिक निकाय भर्तीको केन्द्र बनाईएको भए पनि अहिले देउवा सरकारले त्यसलाई सुधारेको दाबी गरे । खतिवडाले भने, ‘अहिले गठबन्धनको सरकारले राम्रो काम गर्यो । संविधानलाई सही ट्रयाकमा ल्याउने काम भएको छ । हिजो सरकारमा हुँदा केपी ओलीले ०७५ सालको मंसिरमै रेलको टिकट किन्न भन्नुभयो । पानीजहाजको कार्यालय खोल्नुभयो । तर तीन महिनाभित्रै बन्द भयो । उहाँले बोल्दा धेरै हास्ने काम त गरियो । तर उहाँको काम हेर्दा निन्द्रा लाग्दैन थियो ।’

Advertisement

उनले आफूहरुको सरकारको नेतृत्वमा आउनेबित्तिकै पदमुक्त भएका सांसदहरुको लागि राष्ट्रियसभाको निर्वाचन गरेको पनि बताए । खतिवडाले भने, ‘अहिले फेरि सरकारले कार्यकाल सम्पन्न भएका राष्ट्रियसभाका सांसदहरुको निर्वाचनको तयारी गर्दैछ । यो निर्वाचन आगामी माघ १२ गते सम्पन्न हुँदैछ ।’

उनले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको पनि दाबी गरे । खतिवडाले भने, ‘हिजो केपी ओलीले १६५ वटा सडक एकैचोटी उद्घाटन गर्नुभयो । पैसा सैसा थिएन् । एकैचोटी रणनीतिक सडक उद्घाटन गर्नुभयो । मुलुकमा खोप थिएन । अहिले एक करोड खोप जम्मा छ । यो सरकार आएपछि यसले खोप । खोप खोप मात्रै भनेको छ । माघ १ गतेबाट राष्ट्रिय खोप अभियान सुरु गर्दैछ । सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ । सोहीअनुसार काम गरिरहेको छ । यो बीचमा पार्टीले आफ्नो १४औं महाधिवेशन पनि सफल रुपमा सम्पन्न गरेको उनले सुनाए । त्यस्तै, सरकारले प्रत्येक (मुटु, मिर्गौला फेल भएका र स्पाईनल–कर्ड ईन्जुरी)का बिरामीलाई ५ हजार दिन थालिएको पनि उनको दाबी छ । 

त्यस्तै, खतिवडाले सरकारले विदेश सम्बन्धमा पनि राम्रो काम गरेको दाबी गरे । उनले भने, ‘हिजोका दिनमा कनिका छरेजस्तो बजेट दुरुपयोग गर्न दिँदैनौं । जनतालाई भ्रमको खेति गरिएको थियो । अहिले यो सरकारले सही ट्रयाकमा ल्याएको छ ।’ खतिवडाले एमालेले संसद् चल्न नदिएकोमा पनि आक्रोश पोखे ।

उनले भने, ‘चुनावबाट बनेको संसद् देखिनसक्नेले किन फेरि चुनावको कुरा गरेर भ्रमको खेती गर्नु ? एमालेका साथीहरु संसद्को बैठकमा चाहीँ जानुहुन्छ । अनि अवरोध गर्नुहुन्छ । फेरि भक्ता चाहीँ खाईरहनुभएको छ । संसदीय समितिमा माधव नेपालहरु बस्दा सँगै बस्ने अनि संसद्मा चाहीँ विरोध गर्ने काम गलत हो । उहाँहरुले सभामुखमाथि विष वमन गर्नुभयो ।’

उनले हिजोका दिनमा आफूहरुले प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका निर्वाह गरेको पनि स्मरण गराए । खतिवडाले भने, ‘संसद्मा प्रतिपक्षीको भूमिका हामीले राम्रोसँग खेल्यौं । तर, अहिले एमालेले संसद् अवरोध गरिरहेको छ । हामी त प्रमुख प्रतिपक्षीसँग सल्लाह गरेर संसद् चलाउँछौं । प्रधानमन्त्री आँफै गएर प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट्नुभएको छ । मलाई विश्वास छ, ओलीले संसद् चलाउन सहयोग गर्नुहुन्छ । केपी ओलीले हिजो प्रधानमन्त्री हुँदा बोलाएको सर्वदलीय बैठकमा देउवा सहभागी हुनुभयो । तर, अहिले ओली सर्वदलीय बैठकमा आउनुभएन । प्रतिपक्षी सत्तापक्षसँग किन नमिल्ने  ? सबै दल मिलौं । एमालेलाई पनि यही सरकारमा ल्याएर चुनावमा जान हामी तयार छौं । यो सरकार संसद्को पूरै अवधि चल्छ ।’

नेता खतिवडाले नेपालको भूमिमा कसैले पनि बाटोघाटो बनाउनु गलत भएको भन्दै यसमा पार्टीको तर्फबाट घोर भत्र्सना गरे । उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो । नक्सा ल्याउँदा पनि कांग्रेसले केन्द्रीय समितिको बैठक राखेर निर्णय गरेको छ । हामी कुटनीतिक रुपमा सम्वाद गरेर हाम्रो भूमि फिर्ता ल्याउँछौं । यसको लागि अहिले पहल भैरहेको छ । परराष्ट्रमन्त्रीले पनि यसबारेमा पहल भैरहेको भन्नुभएको छ । राष्ट्रियताको सवालमा कांग्रेस कसँगैसँग पनि सम्झौता गर्दैन् ।’ 

Advertisement

Advertisement