काठमाडौं । पहिला पटक नेपालतर्फबाट भइरहेको चो ओयु (८,१८८ मिटर) हिमालको आरोहणका लागि दोस्रो टोली पनि क्याम्प १ पुगेको छ । यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको नेपालको चो उयु हिमालको आरोहण पहिलो पटक नेपालबाट हुँदैछ ।
नेपाल तर्फबाट रुट निर्माणका लागि आरोही १०, कुक र कुक हेल्पर गरि १२ जनाको टाली थामे हुँर्दै आधार शिविर पुगी क्याम्प १ सम्मको बाटो खोल्न सफल भएका थिए । क्याम्प १ सम्मको बाटो निर्माण गरिसकेको आरोही टोलीले आइतबार क्याम्प २ को बाटो निमार्णतर्फ लागेका पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
यस आरोहणका लागि सम्पूर्ण खर्च पायोनियरले गरेको उनले बताए । विश्व कीर्तिमानी आरोही तथा पायोनियर एडभेन्चर ट्रेक्सका संस्थापक मिङ्मा दोर्ची शेर्पाको नेतृत्वमा नेपालतर्फबाट पहिलो पटक चो उयु हिमालको आरोहणको लागि ११ जना टोली गत साता बेस क्याम्प प्रस्थान गरेको थियो ।
संखुवासभाको मकालु गाउँपालिकाका ३४ वर्षीय आरोही मिङ्मा दोर्ची शेर्पाले सन् २०१९ मे २७ तारिखका दिन सगरमाथाको शिखरदेखि लोत्सेको शिखरसम्म ६ घण्टा १ मिनेटमा पुगेर विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।
आफूले दुई वर्ष अघिदेखि नै चो ओयु हिमालको रुट निर्माण गर्ने योजना बनाएको बताउँदै उनले तर कोरोना महामारी सुरुपछि भने आफ्नै काम तिर व्यस्त भएको । जाडो याममा चो ओयु हिमालको रुट निर्माण गर्ने योजना बनाएको आरोही मिङ्मा दोर्ची शेर्पाले बताए ।
उनले भने, ‘चो ओयु हिमाल आरोहण गर्न नेपालबाट कमर्सियल रुट होस् र भोलिका दिनमा चीनबाट आरोहण गर्नेहरु नेपालबाट पनि चढ्न सकुन् । साथै नेपालबाट पनि एक्सपेडिशनहरु अर्गनाइज गर्न मिलोस भने मनसायका साथ यो कदम चालेका हौं ।’
शेर्पाका अनुसार आरोहणका लागि चीनबाट बन्द भएकाले र चीनतर्फबाट आरोहण गर्दा २० देखि २८–३० हजार डलर क्लाइन्टहरुले तिर्ने गरेको देखिन्छ । सो एक्सपेडिशन नेपालबाट आयोजन गरे १५ देखि २० हजार डलरसम्म पर्छ । नेपालबाट रुट खोले नेपालको आम्दानी बढ्ने र मजदुरले पनि रोजगारी पाउने उनले बताए ।
चीनतर्फबाट चो ओयु हिमाल चढ्दा नेपाली शेर्पा गाइडहरु हायर गर्छन् । त्यसपछि आरोहण गर्न उनीहरुले अनुमति शुल्क बुझाउनुपर्ने हुन्छ । उनले भने, ‘हामी चीनको लागि विदेशी नै हौं । हामीले पनि उनीहरुलाई कर बुझाउनुपर्छ ।’
टोलीमा आरोही गाइड मिङ्मा दोर्ची शेर्पा, पेम्बा ओङ्छु शेर्पा, पासाङ तेन्जी शेर्पा, मिग्मा दोर्ची शेर्पा, लाक्पा तेन्दु शेर्पा, फुर्वा कुसाङ शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, पासाङ दोर्जे शेर्पा, कामिरिता शेर्पा, दुक्पा छिरि शेर्पा, ल्हाक्पा गेलु शेर्पा छन् ।
त्यस्तै, सोही लक्ष्य लिई ‘चो ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’को अर्को टोली व्यक्तिगतरुपमा सहयोग संकलन गरी बाटो निर्माण गर्न आधार शिविर हुँर्दै आज क्याम्प २ पुगेको चो ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’का प्रबन्धक अशोक राईले जानकारी दिए ।
उनका अनुसार मौसम पूर्वानुमान महाशाखाका अवकाशप्राप्त मौसमविद् कृष्णभक्त मानन्धरले शनिबार मौसम पूर्वानुमानबारे टोलीलाई समयमै जानकारी दिएका थिए । मानन्धरले केटु हिमाल आरोहणका क्रममा पनि मौसम पूर्वानुमानबारे जानकारी दिएर ठूलो सहयोग गरेको राईले स्मरण गरे । उनले जाडो याममा केटु हिमालको सफल आरोहण गरेर विश्व र्कीतिमान कायम गर्न सफल भएको बताए ।
साथै, आरोही टिमले क्याम्प २ सम्मको बाटो निर्माण गरी क्याम्प ३ तर्फ लागेका राईले बताए । यही फेब्रुअरी महिनाको २४–२५ तारिखभित्र रुट मार्ग निर्माण गरिसक्ने योजना बनाएको यस टोलीले क्याम्प ३ सम्मको बाटो खोल्ने रोप फिक्सिङ गरी बेस क्याम्प फर्किएपछि मौसम हेरेर राम्रो भयो भने चाहिने समानहरु लानुका साथै लक्ष्य राखेकै दिनमा शिखर आरोहण गर्ने जानकारी दिएको छ ।
टोलीमा आरोही गाइड गेल्जेन शेर्पा, टासी शेर्पा, लाक्पा देण्डी शेर्पा, पेम्बा तेन्जी शेर्पा, तेन्जीङ गेल्जेन शेर्पा, गेसमान तामाङ, विवस शेर्पा, कर्मा शेर्पा, फुरी कित र पेम्बा दोर्जी शेर्पा छन् ।