काठमाडौं। अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर)को सफल आरोहणपछि विश्व कीर्तिमानी मिङ्मा शेर्पाले अफ्रिकाको अग्लो हिमाल किलिमन्जरो (५,८९५ मिटर)को सफल आरोहण गरेका छन् ।
आज आइतबार अफ्रिकाको समयअनुसार बिहान ६ः३० बजे उनले किलिमन्जरोको सफल आरोहण गरेका हुन् । यसअघि कीर्तिमानी आरोहीसमेत रहेका तीन नेपाली दाजुभाइले जनवरी १३ मा अन्टार्कटिकाको द लास्ट डिग्री–द साउथ पोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमालको एकैपटक सफलतापूर्वक आरोहण गरेका थिए ।
साथै, आरोही मिङ्मा शेर्पाले गत जनवरी २४ मा अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा हिमालको सफल आरोहण गरेका थिए । संखुवासभाको मकालु गाउँपालिकाका मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासी लाक्पा शेर्पा डिसेम्बर १३ मा काठमाडौबाट अन्टार्कटिकाकातर्फ प्रस्थान गरेका थिए ।
सेभेन समिट ट्रेक्सका सञ्चालकसमेत रहेका तीन दाजुभाइले पहिलोपटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।