कीर्तिमानी आरोही सानु शेर्पा अर्को कीर्तिमानका लागि कञ्चनजंगा चढ्दै

Advertisement

काठमाडौं । कीर्तिमानी आरोही सानु शेर्पा अर्को कीर्तिमानका लागि कञ्चनजंगा चढ्ने भएका छन् । संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४६ वर्षीय सानु शेर्पाले ११ ओटा हिमाल दोस्रो पटक आरोहण गरेको कीर्तिमान छ । 

चौध वटा हिमालहरु दोबर पटक आरोहोण गर्ने लक्ष्यका साथ उनले फेरि कञ्चनजङ्घा हिमाल चढ्ने भएका छन्। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेका आरोही शेर्पा कञ्चनजङ्गा हिमालको यात्रामा जाने तरखरमा छन् । अप्रिलको पहिलो हप्ता उनी कञ्चनजङ्गाको शिखरतर्फ उक्लिने छन् । 

Advertisement

सन् २००६ मा पहिलो पटक चो ओयु हिमालको आरोहण गरेका शेर्पाले दोस्रो पटक कञ्चनजङ्गाको चुचुरोमा टेक्ने बताएका छन् । विश्व कीर्तिमान कायम गरी पुनः कीर्तिमान बनाउन कञ्चनजङ्गाको आरोहण गर्न लागेका उनले बताएका छन् । शेर्पाले यसअघि दोस्रो पटक धौलागिरी हिमाल चढ्न सफल भएका थिए । 

आरोही सानु शेर्पाले हालसम्म ११ वटा हिमालको दोस्रो पटक आरोहण गरिसकेका छन् । यस पटक उनले १२औं हिमाल दोस्रो पटक आरोहण गरेर कीर्तिमान कायम गर्न लागेका हुन् । शेर्पाले कञ्चनजङ्गा, मकालु र गसेरब्रुम–२ को आरोहण सम्पन्न गरेपछि विश्वमै दोहोरिएर १४ वटा अग्ला हिमालको आरोहण गर्ने व्यक्तिमा नाम लेखाउन सक्षम हुनेछन् । केही वर्षअघि स्पेनका आरोही होनेटोले दोहोरो पटक अग्ला १४ हिमालको आरोहण प्रयास गरेका थिए । तर सफल हुन सकेका थिएनन् ।

सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए । उनले सन् २०१९ मा धौलागिरी हिमाल आरोहणसँगै १४ वटा हिमाल आरोहण सम्पन्न गरी विश्व कीर्तिमानी आरोहीको रुपमा नाम लेखाएका थिए । 

शेर्पाले सन् २००६ मा चो ओयु, २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटु, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा र २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका छन् ।

सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका उनले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए । उनी चौध वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली हुन् । शेर्पाले दोस्रो पटक आरोहण गरेका हिमालहरु चो ओयु, सिसापाङमा, सगरमाथा, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी, केटु, नाङगापर्वत, ब्रोडपिक र गसेरब्रुम–१ आरोहण गरेका हुन् ।

शेर्पाले अब नेपालमा रहेको कञ्चनजङ्गा, मकालु र पाकिस्तानमा रहेको गसेरब्रुम–१ मात्र दोस्रौ पटक आरोहण गर्न बाँकी छ । 

Advertisement

Advertisement