क्यानडालाई हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा

Advertisement

काठमाडौं । क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह बी को विजेतासहित आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा सोमबार भएको अन्तिम खेलमा नेपालले क्यानडालाई हराउन सफल भएको हो । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । 

Advertisement

दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । समूह ए बाट आयरल्याण्ड सेमिफाइनलमा पुगेको छ । 

दुवै सेमिफाइनल खेल मंगलबार नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ । आज भएको खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टाउन सफल भएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए भने दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । ३.६ ओभरमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएपछि आएका कुशल मल्लले रनको खाता नखोली आउट भए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नजरले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाविरुद्ध कप्तान सन्दीप लामिछानेले ३ विकेट, कमलसिंह ऐरी र अविनाश बोहराले २–२ तथा कुशल मल्लले १ विकेट लिए । खेल जितेसँगै प्रधानमन्त्री शेरबहादुर देउवालगायतले नेपाली टिमलाई बधाई दिएका थिए । 

Advertisement

Advertisement