काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुवैदेशबीच आपसी सहकार्यका बारेमा छलफल भएको बोर्डले जानकारी दिएको छ ।
नेपाल र इजरायलबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनन्जय रेग्मी र नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानबीच बुधवार भेटवार्ता भएको थियो भने मंगलवार रुसी प्रतिनिधीहरुसँग भेटवार्ता भयो ।
भेटमा नेपाल र इजरायबीच लामो समयदेखि सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न सकिने कुरामा छलफल भएको थियो । दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा छलफल भएको थियो ।
सो अवसरमा बोर्डका सीईओ रेग्मीले इजरायलबाट लामो समयदेखि नेपालका विभिन्न क्षेत्रमा सहयोग प्रदान भइरहेको उल्लेख गर्दै पर्यटनका क्षेत्रमा समेत इजरायलसँग मिलेर काम गर्न सकिने बताए । उनले कोभिडको संक्रमण क्रमशः घट्र्दै गएकोले विस्तारै नेपालको पर्यटनले गतिलिने बताउँदै इजरायललााई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे ।
नेपालका लागि इजरायली दूतावासका डेपुटी चीफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह संभावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा सहयोग गर्न इजरायल सधैं तयार रहेको बताए ।
उनले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायको अभ्यास राम्रो रहेकोले त्यस क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्न सकिने बताए । कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापा, निर्देशक मणिराज लामिछाने, निमित्त निर्देशक लक्ष्मण गौतम लगायतले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान प्रदान गर्न सके यसबाट दुवै देशले फाइदा लिन सक्ने बताएका थिए ।
यस्तै, पर्यटन बोर्ड र काठमाडौंस्थित रसियन दूतावासका वाणिज्य प्रतिनिधिहरुबीच भएको भेटमा आपसी सहकार्यमा दुवै देशबीच पर्यटन प्रवद्र्धन तथा अन्य क्षेत्रमा सहकार्य गर्न सकिने कुरामा छलफल भएको बोर्डले जानकारी दिएको छ ।
भेटमा सीईओ रेग्मीले दूतावासको समन्वयमा नेपालका पर्यटन व्यवसायी र रसियाका पर्यटन व्यवसायीबीच अन्तरक्रिया आयोजना गरेर अघि बढ्न सकिने बताए । रुसी दुतावासका प्रमुख वाणिज्य प्रनितिधी अलेक्जेन्डर लेओनीडोबीच रिवासले नेपालको पर्यटन प्रद्र्धनका लागि काम गर्न सकिने बताए ।
यस्तै दूतावासका नेपाल भारत तथा साउथ इस्ट एशियाका विजनेश कन्सल्टेन्ट अनस्तासिया अन्टोनोभ्ना ग्रिन्योभाले नेपालको पर्यटनसँगै अन्य वाणिज्य क्षेत्रमा समेत काम गर्न सकिने बताइन् ।
यसअघि पनि केही महिनाअघि नेपाल र रुसबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा सीईओ रेग्मी र नेपालका लागि रुसी दूतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच कुराकानी भएको थियो ।