काठमाडौं । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ । थाईल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लवसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यति बेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ ।
केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका थाईल्याण्ड भ्रमण गर्दैछ ।
चैत १० र १३ गते हुने दुई खेलका लागि राष्ट्रिय फुटबल टोलीले अभ्यासलाई तीव्रता दिइरहेको छ । मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले थाइल्याण्डसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि यसअघि २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्दा तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र जगजित श्रेष्ठ भने उपस्थित थिएनन् । वैदेशिक क्लवहरुको अनुबन्धमा रहेकाले उनीहरु उपस्थित छैनन् । तर अन्तर्राष्ट्रिय भ्रमणमा उनीहरु समावेश हुनेछन् ।
एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन् । मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध अप्रिल ५ मा प्रतिस्पर्धा गर्दैछ । ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ ।
समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ । शहीद स्मारक ए डिभिजन लिगको सातौँ चरण सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहेपछि मच्छिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको हो जुन अखिल नेपाल फुटबल संघ (एन्फा) लिगको दौरानमा यस्तो सूचना निकालेको थियो ।
यसैबीच बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल खेलाडीले बिहीबार आपसमा रंङ साटेर होली मनाए । नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन् । नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।