इञ्जिनियर्स एसोसियशनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

Advertisement

काठमाडौँ । नेपाल इञ्जिनियर्स एसोसियशनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्राटिक इञ्जिनियर्स नेपालका डा. हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए । 

यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित भए । सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको समितिले जनाएको छ । 

Advertisement

महासचिव पदमा रविभूषण झाले चार हजार २९८ मत पाएका छन् । उपमहासचिवमा सरोज धितालले तीन हजार ६८३ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा दिनेश त्रिपाठीले तीन हजार ६०५ मत प्राप्त गरे  भने सहकोषाध्यक्ष पदमा दीपक अधिकारी तीन हजार ३४२ मत ल्याई विजयी भए ।  

एसोसियशनको सबै सदस्य पदमा पनि लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भए । मधेस प्रदेशबाहेकका छ प्रदेशको एसोसियशनमा पनि लोकतान्त्रिक समूहको नेतृत्व निर्वाचित भएको छ । मधेस प्रदेशका अध्यक्षमा भने नेशनल इञ्जिनियर्स एसोसियशन नेपालका गौरी पण्डित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त अध्यक्ष निर्वाचित भए । वाग्मती प्रदेशमा पनि लोकतान्त्रिक समूहकै रोहिणी पौडेल निर्वाचित भएका छन् । 

यसैगरी प्रगतिशील समूहबाट केन्द्रीय अध्यक्षमा डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि छ प्रदेशसहित केन्द्रमा पनि निर्वाचित भएको छ ।

एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एसोसियसनबाट इञ्जिनीयर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवार निर्वाचित भएको जनाइएको छ ।

Advertisement

Advertisement