मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

Advertisement

काठमाडौँ । नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । 

मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन् । 

Advertisement

भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पुर्याउन प्रस्ताव गर्नुभएको थियो । सो क्रममा उहाँहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । 

दुबई पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने दुई पक्राउ
यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरुले रु नौ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरुले प्रतिव्यक्ति रु एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ ।   

त्यसपछि उनीहरु फरार रहेकामा वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछि खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार एक सूचना जारी गरी जनाएको छ । उनीहरुमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ । 

Advertisement

Advertisement