एसीसी महिला टी–२० मा नेपालको लगातार दोस्रो जित

Advertisement

काठमाडौं । मलेशियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । 

किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो । 

Advertisement

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक–एक विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ  । पराजित कुवेतको तालिकामा १ अंक छ ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् ।  २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन् ।  

त्यस्तै इन्दु बर्माले २८ रन जोड्ने क्रममा ३३ बलको सामना गर्दा २ चौका चट्काइन । यस्तै ज्योती पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्ने क्रममा क्याच आउट भइन् । यस्तै सिता राना मगर र काजल श्रेष्ठले समान ५–५ रनको पारी खेल्दै पवेलियन फर्किए । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एकएक विकेट लिइन् ।

यस अघि च्याम्पियनसिपको  पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरको थियो । उता कुवेतले भने बर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो । च्याम्पियनसिप अन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । 

१० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागि टोलीलाई आयोजक दुई समूहमा विभाजन गरको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन भने फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन ।

Advertisement

Advertisement