भोलि योग दिवस, आर्ट अफ लिभिङले विश्व सम्पदा क्षेत्रहरूमा योग कार्यक्रम गर्ने

Advertisement

काठमाडौं । आर्ट अफ लिभिङ नेपालले विश्व सम्पदा क्षेत्रहरूमा योग महोत्सव आयोजना गर्ने भएको छ । जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समुहका मानिसहरू स्वतन्त्र रूपमा सहभागी हुन पाउने जनाइएको छ ।

आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशाला र जनचेतनामूलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ । यो वर्ष आर्टले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थाहरुका लागि पनि योग कक्षाहरु सञ्चालन गर्ने जनाएको छ । आर्टले आर्मी र सशस्त्र प्रहरी बलका लागि क्रमशः जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ । आर्टको योगा को–अर्डिनेटर रिया थापाको संयोजकत्वमा योग कक्षाहरु संचालन भइरहेका छन् ।

Advertisement

मानव स्वास्थ्य र खुशीमा केन्द्रित आर्ट अफ लिभिङको यो वर्षको योग दिवसको थिम ‘मानवताका लागि योग’ रहेको छ । आर्ट अफ लिभिङ काठमाडौंका सम्पूर्ण परिवार सहभागीसहित यही जुन २१ तारिखमा(भोलि) अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बिहान ६ः३० बजे वल्र्ड ट्रेड सेन्टरको डिइसीसी हलमा आर्ट नेपालले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रमको अन्त्यमा साँझको सत्संग र आर्ट अफ लिभिङका संस्थापक, आध्यात्मिक गुरु एवम् मानवतावादका प्रवर्तक् श्रीश्रीश्री रविशंकरद्वारा पतञ्जली योगको बारेमा प्रवचन कार्यक्रम रहेको छ ।

आर्टले योग श्रृङ्खला महादेवथान, मातातीर्थ, स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपालगायत काठमाडौंका अन्य विभिन्न स्थानहरुमा संचालन गरिसकेको छ । जसमा आईटी व्यवसायी, विद्यार्थी, ब्रिटिश गोर्खा प्रशिक्षार्थी, कराते अभ्यासकर्ता, गृहिणीलगायत विभिन्न समुदाय र पृष्ठभूमिबाट योग गर्न र यसको महत्व झल्काउनको लागि मानिसहरु सहभागी हुँदै आएका छन् ।

आर्टका योग गुरुहरुले काठमाडौं उपत्यकाबाहिर पनि पोखरा, चितवन, लुम्बिनी, बुटवल, भैरवा, धनगढी, दाङ, विराटनगर, झापालगायतका स्थानहरुमा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएको छ । तन, मन र आत्माको मिलनको महसुस गर्न र योगको फाईदा लिन चाहने सम्पूर्णले योगमा सहभागी हुन अनुरोध गरेको छ । साथै, आर्टले अनलाइन र अफ लाइन दुबै तरिकाले योगा डे मनाउँदै आएको छ । 

Advertisement

Advertisement