हाम्रो पात्रोले सुरु गर्यो ई-लर्निङ प्याटफर्म

Advertisement

काठमाडौँ । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ। समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ । प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । 

Advertisement

अब विद्यार्थी र गुणस्तरीय शिक्षाबीचको दुरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ । प्रविधिले यो समस्यामा पुलको भूमिका खेल्ने भएको छ । हाम्रो पात्रो इंकका फाउण्डर सीईओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताए । साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताए । 

हाम्रो पात्रोका सीईओ उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीले सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर भरेका छन् । उक्त कार्यक्रममा कार्कीले भने, ‘हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्याउन पाउँदा उत्साहित छु। हाम्रा कक्षाहरू धेरै विद्यार्थीहरूमाझ लोकप्रिय रहेकाछन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यको लागि सर्वोत्तम माध्यम हुनेछ।’ 

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामाग्रीहरू उपलब्ध गराउन सक्छन् । हाललाई डियरवाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन् । कक्षा चार देखि एघार कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपल्बध रहेका छन् । बाँकी आवश्यक लेक्चरहरू, सम्बन्धित विषयका प्रश्न, क्विज पनि आगामी दिनमा थपिँदै जाने जनाइएको छ । छ

Advertisement

Advertisement