काठमाडौं । उत्पादनको मात्रा भन्दा बढी निर्यात भएपछि अब सुपारीको डिएनए परीक्षण गर्नुपर्ने बताइएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।
पछिल्लो समय निर्यात गर्न पाएको इजाजतभन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो । बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात–निर्यात गर्न निर्देशन दिइएको छ । समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्याएर निर्यात गर्न दिने गरेको बताए ।
केही दिनअघि विराटनगर भन्सारबाट भारततर्फ निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याई अनुसन्धान गरिरहेको छ । बैठकमा सांसदहरूले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुनुपर्ने बताएका छन् ।