अबको चुनावमा मान्छेको खरिद बिक्री नहोस्ः ज्ञवाली, जनता एमालेलाई भोट हाल्न हतारिएको दावी

Advertisement

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको दावी गरे । 

जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउने जिकिर गर्दै उनले भने, ‘यो चुनावमा एमालेले एक्लै विजय प्राप्त गर्नेगरि तयारी गरेको छ । एमालेको जनप्रभाव जुन छ, पाँच दलीय गठबन्धनका साथीहरु नै यसबारेमा सबैभन्दा बढि सचेत छन् । कांग्रेसले त एक्लै एमालेलाई पराजय गर्न सकिँदैन भनेर निश्कर्ष निकालेको छ । अहिले कांग्रेस चुनावको लागि अरु सहयोगीको खोजी गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत प्राप्त गरेको छ । जनमतको हिसाबले एमाले अहिलेपनि ठूलो दल हो । एमालेको नीति, सिद्धान्त, विचार र एमाले सरकारले गरेका कामहरुले एक्लो विजयी हुने बलियो आधार छ ।’

Advertisement

जनता अहिले कतिबेला चुनाव हुन्छ र एमालेलाई मतदान गरौंला भनेर पर्खिएर बसेको टिप्पणी गर्दै ज्ञवालीले भने, ‘जनता अहिले एमालेलाई मतदान गर्नको लागि प्रतिक्षा गरेर बसेका छन् । अहिलेको सरकारको कामबाट जनता वाक्कदिक्क भएका छन् । कांग्रेससँगै अहिलेको गठबन्धनलाई विदाई गर्ने तयारीमा जनता जुटेका छन् । हामी आफ्नो खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा लागेका छौं । हामी एक्लै बहुमत ल्याउँछौं ।’

उनले आफ्नो पार्टी अहिले चुनावको तयारीमा जुटिसकेको पनि बताए । ज्ञवालीले थपे, ‘हाम्रो सचिवालयको बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनको तयारीको सन्दर्भमा महत्वपूर्ण निर्णय पनि गरेको छ । यतिबेला नेपालको राजनीतिमा एमाले सबभन्दा ठूलो दल, कम्युनिष्ट आन्दोलनको मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको लागि पनि सबभन्दा ठूलो दलको रुपमा रहेको छ । अहिलेसम्म एमालेको जति वटा सरकार बने, मनमोहनदेखि हाम्रो अध्यक्ष केपी ओलीको पालासम्म, ती सरकारले नेपाली जनता र राष्ट्रको लागि महत्वपूर्ण काम गरेका थिए । एमालेको सरकारलाई अदालतको निर्णयबाट अपदस्त गरियो ।’

उनले अहिले मुलुकको आर्थिक अवस्था संकटपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरे । ज्ञवालीले भने, ‘महँगी चरम रुपमा बढेको छ । जनता ठूलो मारमा छन् । नेपालको इतिहासमा यो ठूलो महँगी हो । विदेशी मुद्रा सञ्चिती ५ देखि ६ महिनासम्म मात्रै पुग्ने अवस्थामा छ । यसअघि केपी ओलीको सरकारको पालामा ११ महिनासम्म धान्न सक्ने अवस्थामा थियो । अहिले त्यो ओरालो लागेको छ । मुलुकमा अहिले आर्थिक संकट गहिरो छ । बैंकले ऋण दिनसक्ने अवस्था छैन् । चौतर्फी रुपमा मुलुकको अवस्था अस्तव्यस्त छ । जनताले पाउने सेवा सुविधामा ढिलासुस्ती भएको छ । जनतामाथि दिनदिनै अन्याय, अत्याचार भइरहेको छ । जनताले दुःख पाउने अवस्था छ । राष्ट्रिय परिचपयपत्रको लागि रातभरि लाईन बस्नुपर्ने अवस्था छ । निहारिकालाई न्याय दिन सकेको छैन् । झण्डै उनले आत्मदाह गरेर ज्यान गुमाउनुपरेन । मिटरब्याजको अत्याचार बढिरहेको छ । हाम्रो पार्टी संवेदनशील विषयमा गम्भीर बनेको छ । यी विषयमा सरकारले छिटो समाधान गरोस ।’

ज्ञवालीले मंसिर ४ गते हुने आम निर्वाचन शान्तिपूर्ण रुपमा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुपर्छ । गएको स्थानीय निर्वाचनमा विभिन्न ठाउँमा धाँधली गरियो । जबरजस्ती गरियो । त्यस्तो स्थिति अबको निर्वाचनमा नदोहोरियोस । चुनावमा मान्छेको खरिद बिक्री हुने गरेको छ, त्यो नहोस । एमाले चुनावको लागि लागि सरकारलाई सहयोग गर्न तयार छ ।’

ज्ञवालीले एमाले सरकारको पालामा भएका काम र अहिले पाँच दलीय गठबन्धनको सरकारको बेलामा भएको काम जनताले सुक्ष्म रुपमा हेरिरहेको बताए । उनले भने, ‘जनता सबै कुरामा सचेत छन् । आगामी निर्वाचनमा जनताले एमालेलाई बहुमत दिने निश्चित छ ।’

सत्ता गठबन्धनमा तालमेलको विषय पेचिलो बनेको उल्लेख गर्दै उनले गठबन्धनमा कांग्रेससँग अरु दल निरीह बनेको टिप्पणी गरे । ज्ञवालीले भने, ‘गठबन्धनकै कुरा गर्दा कांग्रेस एक्लै बहुमत ल्याउनेगरि लागेको छ । अहिलेको पाँच दलीय गठबन्धनको नेता को हो ? यसमा प्रष्टै छ नि–नेपाली कांग्रेस र देउवा नै हो । पाँच दलीय गठबन्धन भनेको एक किसिमले भन्ने हो भने नेपाली कांग्रेस नै हो ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल कांग्रेसलाई पहिलो दल बनाउन सक्रिय भएर लागेको बताए । ज्ञवालीले भने, ‘उहाँहरु कांग्रेसलाई पहिलो बनाउन लागिरहनुभएको छ । कांग्रेस जिताउनको लागि उहाँहरुको अभियान हो । तर, एमाले कम्युनिष्ट पार्टी हो । यो समाजवादको यात्रामा अघि बढिरहेको छ । नेपालको राजनीतिमा कांग्रेसका नेतृत्वमा पुँजीवादलाई सुदृढ गर्ने काम भएको छ भने एमालेको नेतृत्वमा समाजवादको यात्रा तय गर्न अभियान चलेको छ । यो चुनाव भनेको समाजवाद र पुँजीवादको लडाईं पनि हो । नेपाली जनता समाजवादको पक्षमा छन् । वापमन्थी विचारको पक्षमा छन् । शान्ति र समृद्धिको पक्षमा छन् ।
 

Advertisement

Advertisement