बन्चरेडाँडामा फोहोर फाल्न नदिने सत्ताधारी तीन दलको निर्णय, समस्या विकराल बन्ने संकेत

Advertisement

काठमाडौं । सत्ताधारी तीन दलका स्थानीय संयन्त्रले बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने निर्णय गरेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ को नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै फोहोर फाल्न नदिने निर्णय गरेको हो । 

उनीहरुले आफ्ना कार्यकर्तामार्फत फोहोर फाल्न अवरोध गर्नेदेखि फोहोरका गाडीहरु तोडफोड डराउने काम गर्दै आएको आइतबार औपचारिकरुपमा फोहोर फाल्न नदिने निर्णय गरेको हो । 

Advertisement

निर्णयमा कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन् ।

केन्द्रमा ठूला दलहरुले काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयरलाई आफ्नो पार्टीमा आउन दबाब दिँदै फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएको बेला स्थानीयस्तरबाट पनि औपचारिकरुपमा फोहोर फाल्न नदिने निर्णय गरिएको हो । 

खानेपानीको मुहानमा फोहोर फाल्न नपाइने भन्दै  काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोक्नेदेखि नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा निजी गाडीको ठक्करबाट बाख्रा मरेको नाममा सडक अवरुद्ध गर्ने जस्ता काम भइरहेको बेला धुनिबेशीका सत्तारुप नेता कार्यकर्ताले फोहोर फाल्न नदिने औपचारिक निर्णय गरेका हुन् । 

अवरोधै अवरोधका कारण काठमाडौंका सडक र चोकहरुमा फोहोरका थुप्राहरु बढिरहेको बेला यसमा भइरहेको राजनीतिले समस्या झन जटिल हुने र काठमाडौं कुनै पनि दिन महामारी फैलिनसक्ने संभावना बढेर भएको छ । 

Advertisement

Advertisement