नेता कार्यकर्तालाई ओलीले भने– सबैले टिकटको लोभ नगर्नु, हामो सरकार बनेपछि ठाउँ दिउँला

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकीर गर्दै उनले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन आग्रह गरे । 

Advertisement

पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने ओलीको भनाई थियो । नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने पनि पटकपटक दोहोर्याए । 

उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पुर्याउने उल्लेख गर्दै ओलीले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्रै ठाउँ हुने पनि स्पष्ट पारे । उनले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने सुझाव दिए । 

नेता ओलीले आगामी निर्वाचनमा मतदाताको संख्या बढाउने  र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने पनि बताए । उनले भने, ‘अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरु एकजुट भएर लागिराख्या छन् । यस्तो अवस्थामा उनीहरुले हाम्रो विरुद्धमा भ्रम फिजाउन खोजिरहेका छन । हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन । हाम्रा विरुद्ध मानिसहरुलाई उचाल्न खोज्छन । कोही पनि साथीहरु पार्टीको विरुद्ध उचालिनु, अधैर्यता राख्नु हुँदैन ।’ 

ओलीले थपे, ‘एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्र पनि १–१ जना उम्मेदवार हुन्छ । त्यत्ति नै हो उम्मेदवार हुने । जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् । उम्मेदवार पाइन भनेर असन्तुष्ट हुने हो भने एक जनाले उम्मेदवारी पाउँछ, बाँकी अरु त असन्तुष्ट हुने भए । त्यसकारण उम्मेदवार नपाएर असन्तुष्ट हुने काम, त्यसले हामीलाई ठूलो घाटा पुर्याउँछ । हामीले जित्यौ भने, सरकार बनायौं भने थुप्रै ठाउँहरु निस्कन्छन । हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं । एकजुट भएन जित्न सक्ने हो ।’

उनले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दावी गरे । अरुले मधेशमा त्यहाँका जनताको समस्या समाधान होइन, राजनीति मात्रै गरिरहेको उनको आरोप थियो । 

ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले अघि बढन नदिएको गुनासो समेत गरे । 

उनले विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताए । ओलीले भने, ‘एकै पार्टी भए पनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढङ्गी तालले, गलत ढंगले छलफल गर्न नदिईकन उनीहरुले अगाडि बढाएका छन् । त्यो देशको हितको पक्षमा हुनुपर्छ । जनताको हितको पक्षमा हुनुपर्छ । नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ । नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । नागरिकताको समस्या त्यही त हो नि । वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो त जग्गेमै त दिने होइन त ।’ 

Advertisement

Advertisement