अब ‘पैंचो’ ब्राण्डका उत्पादन अमेरिकामा पनि निर्यात हुने

Advertisement

काठमाडौं । ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसल प्रालिले अमेरिकामा पनि आफ्नो बजार विस्तार गरेको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना उत्पादन अमेरिकाका विभिन्न राज्यमा निर्यात गर्न लागेको जानकारी दिएको हो । 

आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपालीहरुमाझ पुर्याउनले लक्ष्य रहेको बताउँदै पैंचोका बजार व्यवस्थापक लक्ष्मण गैरेले पैंचोका उत्पादन अमेरिका पुर्याउन न्यूर्योकस्थित फेन्सी हाउस इङ्कले नेपालको अग्नि एक्जिम प्रालीसँग सम्झौता गरेको बताए । 

Advertisement

‘बसे पनि शहर,गाउँकै खाने रहर’ नारा तयार गरेको पैंचोले ग्रामीण वस्तुहरुको रैथाने स्वादलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आफू लागिपरेको बताएको छ । गैरेले नेपाली उत्पादनलाई अमेरिका पुर्याउनु गौरवको विषय भएको बताए । उनले अमेरिकामा पैंचोका उत्पादनको राम्रो बजार सम्भावना रहेकाले पनि निर्यात सुरु गरेको बताए । 

पैंचोका उत्पादनले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्रमाण पत्र आइएसओ, डब्लुएचओजीएमपी र एचएसीसीपी प्राप्त गरिसकेको भन्दै कम्पनीका प्रतिनिधिहरुले पैंचोको उत्पादनमा एक दर्जन जिल्लाका दश हजार किसान आवद्ध रहेको पनि बताए । पैंचोले विभिन्न स्वादका अचार, जाम, केचप, सस जस्ता वस्तु उत्पादन र बिक्री गर्दै आएको छ । 

फेन्सी हाउस इङ्कका निर्देशक अनिल रौनियारले सुरुवाती व्यापार प्रवर्द्धनका लागि नेपालबाट पैंचोका केही उत्पादन अमेरिका लगिएको र त्यसलाई ग्राहकले रुचाएकाले व्यवसायिकरुपमा नेपालबाट आयात गर्न लागिएको बताए । 

Advertisement

Advertisement