नेपाल उद्योग परिसंघले महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी पुस २९ देखि माघ १ गतेसम्म महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने भएको छ । परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो ।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य यो सम्मेलनको रहेको छ । 

Advertisement

यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ । 

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ । 

परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउँछ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ । 

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुने परिसंघले जनाएको छ । 
 

Advertisement

Advertisement