चुनावको मुखमा कांग्रेसमा किचलो बढ्दै, पार्टी कार्यालयमै धर्ना दिने असन्तुष्ट समूहको निर्णय

Advertisement

काठमाडौं । संसदीय चुनावको मिति नजिकिएको बेला सत्तारुढ नेपाली कांग्रेसभित्रको किचलो झन बढेर गएको छ । असन्तुष्ट शेखर कोइराला समूहले पार्टी कार्यालयमै धर्ना बस्ने निर्णयसमेत गरेको छ । 

किचलो बढ्दै जाँदा कांग्रेसलाई आसन्न निर्वाचनमा कतै ठूलो झड्का लाग्ने त होइन् ? भन्ने आशंका समेत बढेर गएको छ । प्रत्यक्ष तथा समानुपातिक सिट भागबण्डामा सभापति शेरबहादुर देउवा र उनको समूहले एकलौटी गरेको भन्दै कोइराल समूह रुष्ट भएको हो । 

Advertisement

कोइराला समूहले देउवाको एकलौटीविरुद्ध विद्रोह गर्ने चेतावनी दिँदै समानान्तर बैठक गर्दै आएको छ । आज पनि ठमेलस्थित एक होटलमा बैठक बसेर असोज १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म हुनेछ ।

साथै, कोइराला समुहले १४ गतेसम्म पनि समानुपातिक सुची नसच्याए विरोधका थप कार्यक्रम तय गर्ने समेत चेतावनी दिएको छ । पाँच दलीय गठवन्धन बनाएर चुनावमा जान लागेको कांग्रेसले झण्डै आधा हिस्सा कम्युनिष्ट र मधेसवादी दललाई दिन सहमत भएको छ । कोइराला समूहले सिट बाँडफाँटमा ४० प्रतिशत उम्मेदवार आफ्नो समूहलाई दिनुपर्ने अडान राख्दै आएको छ । 

Advertisement

Advertisement