काठमाडौँ । नेपाल वायुसेवा निगमले पछिल्लो पटक गत सोमबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपियाँ भुक्तानी गरेको छ ।
जहाज खरिदका निम्ति ऋण लिएकोमा सञ्चय कोषलाई न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रु. ५३ करोड ९ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरिएको हो ।
त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपियाँ भुक्तानी गरिएको हो ।
विगत तीनवर्ष देखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा पनि बृद्धि भएको छ ।
पछिल्लो पटक गत असार ३० गते सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपियाँ भुक्तानी गरेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जनाएका छन् ।