‘साठी नाघेका नेतालाई विदा गरौं’ भन्ने सन्देशसहित ‘काग सम्मेलन सम्पन्न’, संसद पनि घेर्ने योजना

Advertisement

काठमाडौं । रत्नापार्कस्थित शान्तिवाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरेका कलाकार रमेश दुलालले कागहरु बोलाएर संसद भवन घेर्ने आफ्नो सोच रहेको बताएका छन् । 

यमपञ्चकको पहिलो दिन अर्थात काग तिहारको दिन आज आइतबार बिहान कागहरु बोलाएर १९ औँ काग सम्मेलन गरिएका उनले संसद भवन घेर्ने योजना सुनाए । 

Advertisement

दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । उनले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । 

दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ । 

काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाई र युवाहरुलाई अवसर भन्ने रहेको बताए । 

दुलालले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने बताए । उनले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको बताए । 

दुलालले भने, ‘यसपटक बुढापाका नेताहरुलाई घरमै आराम गर्ने सन्देश दिन्छु । युवाहरुको जोश, जाँगरमा ध्यान दिनुपर्छ भन्ने सन्देश । बीस वर्षमा ठूलो कार्यक्रम गर्ने सोच बनाएको छु । संसद भवन कागले अवरोध गर्ने भन्ने सोच बनाइरहेको छु । सिंहदरबार पनि घेर्ने सोच छ । अब केही समयपछि संसद भवन घेराउन गर्नुपर्छ ।’

कलाकार दुलालले काग सम्मेलनको अवसरमा काग, मयुरका स्वर निकालेर सुनाए । यमपञ्चक (तिहारको पाँच दिन) मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको शुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । 

हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । 

आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दुत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद् सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ । 

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । 

यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ ।
 

Advertisement

Advertisement