चाडपर्वको ऋण तिर्ने बालुवामा सुन खोज्न हिँडे बोटेहरू

Advertisement

तनहुँ । व्यास नगरपालिका-१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् । 

नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब रु ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिए । 

Advertisement

आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उनले बताए ।  

साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उनले भने, “दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।”

क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् । 

सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकुँडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिइन् ।  

काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने  गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् ।  

बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताइन् ।  

नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिइन् ।  

बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उनले बताइन् । रासस 

Advertisement

Advertisement