गोरखामा जितेर संसारलाई देखाउने प्रचण्डको चाहना, ‘रेकर्डसहित जित्नसके केन्द्रमा सजिलो हुन्थ्यो’

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने इच्छा प्रकट गरेका छन् । 

बुधवार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताए । प्रचण्डले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताए । 

Advertisement

रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने बताउँदै उनले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । प्रचण्डले एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्याउन ध्यान दिन निर्देशन दिँदै गोरखाबाट माओवादीले देश र दुनियाँमा देखिनुपर्ने बताए । 

उनले भने, ‘जितिहालिन्छ भन्नुभयो भने त्यो भन्दा क्षति, हाम्रो लागि आत्मघाति कुरा अरु हुँदैन । जितिहालिन्छ भन्ने त सोच्नै हुँदैन । ब्याटलमा जाने, यो ब्याटल नै हो । बुलेटको माध्यमबाट ब्याटल नै लड्ने हो हामीले । बुढापाकाले भन्छन् नि स्यालको शिकार गर्न बाघको तयारी गरेर जानुपर्छ भनेजस्तै । म विशेष रुपले तपाईहरुलाई भन्न चाहन्छु, हामीले गोरखामा रेकर्ड बनाउनु छ । गोरखाबाट हामीले रेकर्ड बनाएर माओवादी पार्टीलाई र त्यसको प्रमुख नेतृत्वलाई बलियो हातसहित यस्तो रेकर्डसहित आएको नेता भनेपछि मात्रै केन्द्रमा भुमिका खेल्नसक्ने शक्ति आर्जन हुन्छ । त्यसकारण एक, एक भोटलाई कसरी संरक्षित गर्ने, कसरी त्यसलाई मतपेटिकासम्म पु¥याउने भन्नेकुरा तपाईं, हामी सबैले । किनकी यो राष्ट्रको, गोरखाको र हामी सबैको भविष्यसँग रिलेटेड छ ।’ 

प्रचण्डले थपे, ‘जितिहालिन्छ भन्ने दुध हाल्ने ठाउँमा म एउटाले पानी हालेर के होला र भन्दा भन्दा दुध पोखरी त पानी पोखरी भयो भनेजस्तो हुने त होइन कतै भन्ने कुरा पनि साथीहरुले सुनाउँदै हुनुहुन्थ्यो । त्यसकारण म तपाईहरुलाई पहिलाको भन्दा अझै ठूलो शक्तिको साथ, अझै धेरै मेहनत गरेर जानुप¥यो । यति हामीले मेहनत ग¥यौँ र एउटा रेकर्डसहित हेर्दाखेरी त्यहाँ देखिने बेलामा नै माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट । गोरखाबाट संसारमा माओवादी देखियोस् । अरु ठाउँमा कति जित्छौँ तपाईहरुले धेरै टेन्सन नलिनुस् । त्यो टेन्सन मैले लिएको छु । तपाईहरु गोरखाबाट संसारलाई माओवादी देखाइदिने यो संकल्प तपाई, हामी सबैले लिनुप¥यो । साझा संकल्प । यो सम्भव लियौँ भने असम्भव बिल्कुलै छैन । सम्भव छ । रेकर्ड बन्छ । गोरखा संसारमा फेरी नयाँ ढंगले देखिन्छ ।’

उनले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गरे । प्रचण्डले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताए । आफू कहाँ जान्छ ? कहाँ बस्छ ? भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै उनले सो कुरा गोरखावासीका लागि चुनौती भएको तर्क गरे । 

प्रचण्डले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको बताए । बाजा बजाउने निर्णय आफ्नो नभएकाले बाजा बज्दैछ भन्ने पनि थाहा नपाएको उनको भनाई छ । 

Advertisement

Advertisement