‘नो नट अगेन’ भन्नुस, तर मर्यादित तरिकालेः थपलिया

Advertisement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् । सोमवार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रममा उनले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुने बताए । 

थपलियाले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्नेकुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए । उनले निर्वाचनरुपी सुन्दर तलाउमा अध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए । 

Advertisement

थपलियाले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न आग्रह गरे । उनले आयोगले नो नट अगेनबारे विज्ञप्ती जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनै पनि कुराहरु राख्न नहुनेतर्फ मात्रै आम मतदाताहरुको ध्यानाकर्षण गराएको बताए । 

उनले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको पनि बताए । थपलियाले अध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम मतदातालाई उम्मेदवारहरुको सही सूचना दिन अग्रसर हुन सुझाव दिए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्नेकुरा, मिथ्या सूचना दिनेकुरा, दुष्प्रचार गर्नेकुरा र घृणास्पद अभिव्यक्ति दिनेकुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन । हामी विभिन्न जातजाति, क्षेत्र, सम्प्रदाय, उमेर समूहका छाँै । निर्वाचनको विषय जोडेर यी विषयसँग सम्बन्धित कुराहरुलाई राखेर, कसैलाई कुनैपनि किसिमले लाञ्छित गर्न पाइँदैन । गालीगलौज गर्न पाइँदैन हामीले भनेका हौँ ।’ 

उनले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहीता कडाई गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिवद्ध रहेको बताए । थपलियाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत रुपमा सम्पन्न गर्न कलाकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । कलाकारहरुलाई निर्वाचनसम्बन्धी सूचनाहरु प्रचारप्रसार गरिदिन पनि थपलियाले आग्रह गरे । 

Advertisement

Advertisement