नेवाः सभ्यता र वागमती सभ्यता संरक्षणका लागि ललितपुरसँग मिलेर काम तयार छौंः बालेन

Advertisement

ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । 

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसमा उनले यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको बताए । 

Advertisement

शाहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय र बागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत तर्क गरे । हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धि विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने बताए । 

शाहले भने, ‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आफैंमा एउटा एक दमै नजिकको भित्र, छिमेकी दाजुभाई जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुराहरु छन । देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्नो भूमिकाहरु देखाएको छ । त्यो एकदमै सराहनीय छ ।’ 

उनले थपे, ‘आगामी दिनहरुमा हामीले पनि सिक्नुपर्ने धेरै कुराहरु छन ललितपुर महानगरपालिकाबाट । सम्पदाको क्षेत्रमा जसरी अहिले ललितपुर महानगरपालिकाले ढुंगेधारा, पुरानो हिटीहरुको संरक्षणमा अग्रसर भएको छ । त्यो कुराहरुलाई हामीले पनि अव पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रो हिटीहरुको पुनस्थापनाको काम गर्दैछौं । अर्को कुरा ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धि  युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु ।’ 

मेयर शाहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताए । उनले प्राचिन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए । 

उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि दोहोर्याए । 
 

Advertisement

Advertisement