हेफरले कोरियाबाट ल्यायो शुद्ध नश्लका गाई, नेपाली गाई विस्थापित गर्न खोज्या होइन्ः श्रेष्ठ

Advertisement

काठमाडौं । दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरुलाई वितरण गरेको हेफर ईन्टरनेशनल नेपालले दावी गरेको छ । सो संस्थाले सरकारको स्वीकृतिमा ती गाईहरु नेपाल ल्याएको बताएको छ । 

यसरी ल्याइएका गाई कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको छ । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । 

Advertisement

हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरियाको तर्फबाट नेपाललाई हस्तान्तरण गरी सरकारले पुस ९ गते कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको जनाइएको छ । 

उत्पादनको हिसावले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ । नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरै गाई आएको हेफरको दावी छ । सो संस्थाका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई बिस्थापित गर्ने नभई नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरु ल्याएको बताए । 

उनले दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नश्लका गाई नश्ल सुधारको लागि ल्याएको बताउँदै नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए । 

नेपालमा रहेको ७३ लाख गाईमध्ये करिव २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको श्रेष्ठको भनाई छ । उनले नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने जिकिर गर्दै स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षण गरी नश्ल सुधारको काम समेत गरिरहेको बताए । 

श्रेष्ठले नेपालमा दुध उत्पादन बढाउन आवश्यक रहेको बताउँदै शुद्ध नश्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताए । उनले दुधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता तथा आहारा, स्वास्थ्य र पालनपोसनमा भर पर्ने बताए । श्रेष्ठले कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको बताए । 

नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरु राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने श्रेष्ठको भनाई छ । 

Advertisement

Advertisement