खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न परिसंघको आग्रह

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ । 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै उद्योगी व्यवसायीहरुको समस्या, सीमा क्षेत्रमा भईरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको छ । 

Advertisement

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए । केही बाहेक अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको उनले बताए । 

सरकारले विदेशी मुद्रा संचिती बढाउन आयातमा कडाई गर्यो । सरकारले आयातमा कडाई गर्दा पनि अटोमोबाइल बाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भईरहेका छन् । मुलुकमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजश्व गुमाइरहेको र उद्योगीहरु हतोत्साही भईरहेको उनले बताए । 

यस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए ।  ५० लाख पर्यटक भित्र्याउन र पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा पनि ई–भिषाको अवधारणा ल्याउनुपर्ने उनको सुझाव छ ।

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको सुझाव अन्तर्गत सुरक्षा निकाय एवं सार्वजनिक क्षेत्रका कर्मचारीहरुको पोशाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ । 

अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा गृहमन्त्री समक्ष पनि पेश गरे । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

सो अवसर गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधै उच्च प्राथमिकतामा राख्ने पनि बताए । उनले स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्नेमा पनि जोड दिए ।

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे, परिसंघ जिल्ला तथा प्रदेश समन्व समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिए । 

Advertisement

Advertisement