सत्ताको वरिपरी रहेका सीमित व्यवसायीले फाइदा लिएः महासंघ

Advertisement

काठमाडौं । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको औंल्याएको छ । महासंघले मुलुकलाई आर्थिक संकटबाट जोगाउनको लागि तत्काल महत्वपूर्ण कदम चाल्न पनि सुझाएको छ । 

आइतबार पत्रकार सम्मेलन गरी उक्त संगठनले बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको व्याज दरलाई उचित न्यूनीकरण गरी एकल अंक कायम गरिनुपर्नेदेखि स–साना व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गरिनुपर्नेलगायत विभिन्न ११ बुँदे सुझाव अघि सारेको छ ।

Advertisement

महासंघले राष्ट्रलाई समुन्नत बनाउनका लागि स–साना व्यवसायीहरुको संरक्षण गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । महासंघका संयोजक जितेन्द्र दाहालले अहिले देश रेमिट्यान्सको भरमा रहेकाले उत्पादन क्षेत्रमा युवाहरुको आकार्षणका लागि सरकारले ध्यान दिने बेला आएको बताए ।  

उनले भने, ‘अबको वैकल्पिक बाटो भनेको सरकारले युवाहरुलाई उत्पादन क्षेत्रमा नजर जाने र आकर्षित हुने वातावरणको निर्माण गर्नुपर्छ । अहिले सत्ताको वरिपरी रहेका सीमित व्यवसायीको भलाईका लागि नेपालको उत्पादन निषेध गरिएको छ । यही अवस्था कायमै रहे नेपालको अर्थतन्त्र दलालहरुको हातमा जाने छ ।’

महासंघले जारी गरेको विज्ञप्तिः 
वर्तमान अवस्थामा सम्पूर्ण उद्योगप्रेमी, व्यापारी, व्यवसायी, किसान, मजदूरमाथि सरकारको अदूरदर्शिता साथै बैंकको चर्को व्याजका कारण उद्योग व्यवसायीहरु आफ्नो व्यवसाय अस्तव्यस्त भई आत्महत्या गर्न बाध्य भएको अवस्थामा फ्रान्सेली राज्य क्रान्तितका प्रचलित ‘पादरी प्रार्थना गर्छ, शासक शासन गर्छ, जनता कर तिर्छ’ भन्ने उखान आज हाम्रो देशको सन्दर्भमा हुबहु चरितार्थ भएको छ । जसको परिणाम हाम्रो देशको अर्थतन्त्र पनि श्रीलङ्काको बाटोमा जाने प्रबल खतरा बढेको छ । 

विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दी र मानव जातिकै अस्तित्व संकटमा पार्ने कोभिड–१९ को संक्रमण प्रकोपको कारण जर्जर भएको अर्थतन्त्रले झनै असहज र अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको छ । श्रमजीवि वर्गको यो अवस्थाप्रति गम्भीर बन्दै हाम्रो महान तथा गौरवशाली संगठन राष्ट्रिय उद्योग तथा व्यापार महासंघको केन्द्रीय समितिको यही पुस १५ गते संगठनका संयोजक जितेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले सरकार तथा सम्बन्धित सरोकारवालासँग तपशीलका बुँदामार्फत् ध्यानाकर्षण गराउने निर्णय गरेको छः

–बैक तथा वित्तीय संस्थाले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरी १ अंक कायम गरियोस् । 

–स–साना व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गरियोस् । 

–सबल र समुन्नत राष्ट्र निर्माणका लागि उत्पादन क्षेत्रमा लगानीको वातावरण निर्माण गरियोस् । 

–स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्ने उद्योगको विकासका निम्ति विशेष पहल गरियोस् । 

–उत्पादनमूलक उद्योगलाई न्युन व्याजदरमा बैकहरुले लगानी गर्ने वातावरण बनाइयोस् । 

–उत्पादनका निम्ति प्रयोग हुने कच्चा पदार्थको भन्सारमूल्य न्यूनभन्दा न्यून गरी आयत गर्ने वातावरण निर्माण गरियोस् । 

–व्यवसायमा लगाइदै आएको दोहोरो कर प्रणालीलाई खारेज गरियोस् । 

–महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुले सडक पेटीमा व्यवसाय गरेर बसेका स–साना व्यवसायीहरुलाई उचित स्थानको व्यवस्था नगरी विस्थापित नगरियोस् । 

–कृषि क्षेत्रमा उत्पादनको आधारमा अनुदान कार्यक्रमको व्यवस्था गरियोस् । 

–सुद्खोरी व्यवसायको अन्त्य गरी उत्पादनमूलक व्यवसायको विकास गरियोस् । 

–युवापंक्तिलाई व्यवसायमा आकर्षित गरी व्यवसायमा सहभागी हुने परिस्थिति निर्माणसहित विदेश पलायन हुनबाट रोक्ने वातावरण तयार गरियोस् ।

Advertisement

Advertisement