व्यापार सन्तुलनका लागि बाह्य लगानी ल्याउनुपर्ने छ, छिमेकीसँग कार्ड गेम अब नखेलौंः ओली

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन् । 

राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने उनको भनाई छ । एमालेको परराष्ट्र मामिला विभागले शुक्रबारबाट सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा ओलीले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटक पटक दोहोर्याए । 

Advertisement

नेता ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको समेत स्पष्ट पारे । उनले भने, ‘हामीले पहिलो कुरा दुई वटा छिमेकीसँग कार्ड खेल्ने होइन भनेर भनेका छौं । एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन । सन्तुलित, विश्वसनीय, भरपर्दो, बाहिर बाहिर एउटा भित्रभित्र अर्को क्रियाकलाप, मुखले एउटा व्यवहारले अर्कै अभ्यास त्यस प्रकारको होइन । भरपर्दो, विश्वसनीय, जे भनिन्छ, त्यो गर्ने एउटाको हित, अर्कोको अहित नगर्ने । र, छिमेकमा बसेर छिमेकको अहित गर्ने भनेको त सामान्य घरगाउँमा पनि नमिल्ने वा असल छिमेकी नमानिने कुरा हो । र, हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । र, उनीहरुको कुभलो गर्दैनौं ।’ 

ओलीले थपे, ‘बिल्कुलै कूभलो नगरिकन छिमेकीहरुसँग भलो चिताएर उनीहरुलाई सहयोग पुर्याएर, उनीहरुका जायज चासो, चिन्ता, सरोकार आदिलाई समेत सम्बोधन गरेर यथोचित ढंगले हामी अगाडि जान्छौं । हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं । मिलिटेरिली हामी कतै संलग्न हुँदैनौं । हामी कसैको पनि मिलिटेरिली बेसिस, कुनै पनि प्रकारका सैनिक गतिविधिहरु वा त्यस्ता अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं । त्यो कसैको पनि राख्यो भने हाम्रा निम्ति त्यो अहितकर हुन्छ । हाम्रा सार्वभौमसत्ताका निम्ति त्यो  सार्वभौमसत्तामाथिको अतिक्रमण हुन्छ । र, हामी कुनै पनि हिसावले हाम्रो सार्वभौमसत्ता , हाम्रो स्वाधिनता, हाम्रो स्वतन्त्रता यस कुरामा कुनै कम्पमाईज गर्दैनौं । र, हामी पारस्पारिक लाभ, र पारस्पारिक सम्मानको आधारमा सम्बन्ध कायम गर्छौं । सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता को नीतिबाट अगाडि बढछौं ।’

अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताउनु भयो । रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उनको भनाई थियो । 

ओलीले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति संचालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याए । उनले भने, ‘हामीलाई देशभित्र शान्ति चाहिएको छ । हामीलाई विकास निम्ति अनुकूल वातावरण चाहिएको छ । हामीलाई विकासका प्रयासहरुलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेछ । हाम्रो स्रोत साधनहरुलाई त हामी केन्द्रित गरौला । प्रयोग गरौंला । अपर्याप्त भएका ठाउँमा बाह्य सहयोग अथवा लगानी आवश्यक पर्छ । त्यो हामीले उपयुक्त ढंगले प्राप्त गर्नुछ ।’ 

ओलीको थप भनाई छ, ‘हामीले आफ्नो व्यापार धेरै असन्तुलित अवस्थामा छ । त्यो व्यापारलाई सन्तुलित अवस्थातर्फ फर्काउन ध्यान दिनुपर्नेछ । जे निर्यात योग्य बस्तुहरु हामीसँग छैनन् । त्यसको उत्पादनमा हामीले जोड दिनुपर्नेछ आन्तरिक रुपमा । र, त्यसमा बल पुग्ने गरी, रोजगारीको अवसर सिर्जना हुनेगरी, हाम्रो आफ्नो पनि प्रयास र बाह्य सहायता वा बाह्य लगानीलाई पनि रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुमा लगाउनुपर्नेछ । त्यसका लागि प्रविधिको प्रयोग र हस्तान्तरण गर्नु पर्नेछ । हाम्रो नीतिहरु यी कुराहरुलाई सहयोग पुग्ने खालको तनावरहित परिस्थिति रहोस् । तनावरहीत छिमेक सम्बन्ध । तनावरहीत ढंगले राष्ट्रको हितको रक्षा, तनावरहित ढंगले राष्ट्रको सुरक्षा, सीमा सुरक्षा । र, कतिपय हामीले भोगीरहेका समस्याहरु छन । सीमा समस्यालगायतका समस्याहरु । हाम्रा प्राकृतिक स्रोतहरुको राष्ट्रिय प्राथमिकतामा प्रयोग गर्नुपर्ने कुराहरु । यी कुराहरुलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति संचालन गर्नुपर्नेछ ।’

अध्यक्ष ओलीले मुलुकमा विकासलाई तीव्रता दिएर अघि  बढन सहज हुने गरी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताए । 

Advertisement

Advertisement