देशी र विदेशी शक्तिले नेपाललाई बर्बाद पार्न आटे, अनेक प्रकारका षड्यन्त्र हुँदैछः ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन भत्किने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दावी सफल नहुने संकेत गरेका छन् । 

एमालेनिकट विद्यार्थी संगठन (अनेरास्ववियु)को कार्यक्रममा मंगलबार उनले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन् । संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै ओलीले गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरे । 

Advertisement

देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेको उनले बताए । ओलीले एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको बताए । उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए । ओलीले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताए । 

उनले भने, ‘अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म । हामीले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा आमरुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ । प्रशन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । बहुमत कसैको छैन् । हाम्रो पार्टीसँग बहुमत छैन् । हामीसँग बहुमत भन्दा निकै तल सिट छ । र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन् ।’ 

ओलीले थपे, ‘यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नपर्यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन । अनेक प्रकारका शक्तिहरु क्रियाशिल छन् । अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन् । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए । कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनको भनाई छ । ओलीले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताए । 

कुनै पनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उनले आफ्ना विद्यार्थीहरुलाई आग्रह गरे । ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गरे । उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका भनि टिप्पणी गरे । नेविसंघलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको उनले बताए । 

Advertisement

Advertisement